अतिक्रमित भूमि फिर्ता ल्याउन प्रतिनिधिसभामा सङ्कल्प प्रस्ताव पेश
![image image](http://www.nepalaynews.com/wp-content/uploads/2020/05/5eb49f25b3dc9_5eb350c263de1_5e891c8f614b8_ca-of-nepal.jpg)
काठमाण्डौ । भारतले मिचेको कालापानी, लिपुलेक र लिम्पियाधुरालगायतका भूभाग फिर्ता ल्याउन माग गर्दै सङ्घीय संसद्मा सङ्कल्प प्रस्ताव दर्ता भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसदहरु गणेश ठगुन्ना, डा दीपकप्रकाश भट्ट, गणेशकुमार पहाडी, रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ र यज्ञबहादुर बोगटीले आइतबार प्रतिनिधिसभामा उक्त सङ्कल्प प्रस्ताव दर्ता गराउनुभएको हो ।
सङ्कल्प प्रस्तावमा दार्चुलाको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रको सम्पूर्ण भूभाग नेपालको रहेको कुरा ऐतिहासिक प्रमाण, तथ्यहरु, विभिन्न समयमा नेपाल र भारत दुवै सरकारबाट प्रकाशित नक्साले प्रमाणित गरेको उल्लेख छ ।
सन् १८१६ को सुगौली सन्धिले स्पष्ट गरेको लिम्पियाधुराबाट निस्कने कुटियाङ्दी नै महाकाली नदी भएकाले सो पूर्वको ४०० वर्गकिलोमिटर नेपाली भूभाग भारतले अतिक्रमण गरी आफ्नो राजनीतिक र प्रशासनिक नियन्त्रणमा राखेकाले उक्त भूभाग फिर्ता लिई नेपालको राजनीतिक र प्रशासनिक उपस्थिति कायम गर्न÷गराउन सङ्कल्प प्रस्ताव पेश गरिएको उहाँहरुले जनाउनुभएको छ ।
प्रकाशित मिति: २९ वैशाख २०७७, सोमवार ०७:२७ बजे