३० माघ २०८१, बुधवार

बाँकेकाे नरैनापुरमा निषेधाज्ञा, सेना परिचालन

नेपालगञ्ज । बाँकेको नरैनापुर गाउँपालिकामा आज राति ८ बजेदेखि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला सुरक्षा समितिको बैठकले अर्को सूचना जारी नभएसम्मका लागि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिनुभयो ।

निषेधाज्ञासंँगै गाउँपालिकामा नेपाली सेनासहित नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त सुरक्षाकर्मीको टुकडी परिचालन गर्ने निर्णयसमेत बैठकले गरेको छ । नरैनापुरमा कोरोना सङ्क्रमण नियन्त्रणभन्दा बाहिर जान थालेपछि गाउँपालिकाले शनिबार नै जिल्ला प्रशासन कार्यालयमार्फत प्रदेश नं ५ सरकार, सङ्घीय सरकार र सरोकार निकायसँग सहयोग मागेको थियो ।

‘क्वारेन्टाइनबाट समुदायस्तरसम्म सङ्क्रमण फैलिने र अवस्था भयावह हुने सम्भावना देखिएकाले बाँके प्रशासनमार्फत सङ्घीय र प्रदेश सरकार तथा जिल्ला सुरक्षा समिति र कोभिड–१९ सङ्क्रमण नियन्त्रण तथा व्यवस्थापन समितिको ध्यानाकर्षण गराउँदै पत्राचार गरेका हौँ’, गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले भन्नुभयो । गाउँपालिकाको मागअनुसार जिल्ला सुरक्षा समितिको बैठकले उक्त निर्णय गरेको प्रजिअ खड्काले बताउनुभयो ।

पछिल्लो तथ्याङ्कानुसार नरैनापुरमा ११४ जनामा कोरोना सङक्रमण पुष्टि भएको छ । तीमध्ये एकको मृत्यु भइसकेको छ । गाउँपालिकाको वडा नं ५ मा मात्र ६२ सङ्क्रमित छन् । नरैनापुरमा १४ क्वारेन्टिनमा अहिले ६२६ जनालाई राखिएको जिल्लाका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार उनीहरूको अहिले नेपालगञ्ज, कोहलपुर र खजुरास्थित आइसोलेसन कक्षमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: ११ जेठ २०७७, आइतवार २१:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु