बकुलहर अस्पताल प्रदेश स्तरको हुने
चितवन । पूर्वी चितवनका चार नगरपालिकाका जनतालाई सेवा दिन सक्ने बकुलहर रत्ननगर अस्पताल प्रदेश स्तरीय हुने भएको छ । वाग्मती प्रदेशले सबै जिल्लामा एउटा प्रदेश स्तरीय बनाउने क्रममा बकुलहर अस्पताललाई प्रदेश अस्पताल बनाउन लागेको हो ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.विश्वबन्धु बगालेका अनुसार हाल १५ श्यया रहेको सो अस्पताल प्रदेश स्तरको हुने भएको हो । वि।सं २०५८ मा धनधान्याञ्चल महायज्ञ लगाएर आर्थिक सङ्कलन गरी त्यहाँको स्वास्थ्य चौकीलाई अस्पताल बनाइएको थियो । हाल त्यहाँ पाँच विशेषज्ञ चिकित्सकले सेवा दिँदै आएका छन् ।
अस्पतालमा हाल आकस्मिक, बहिरङ्ग, भर्ना गरेर उपचार सेवा, प्याथोलोजी, डायलासिस, भिडियो एक्स–रे, एक्स–रे जस्ता सेवा उपलब्ध छन् । अस्पतालमा प्रसूति, बालबालिका, छाला, दाँत लगायतको विशेषज्ञ सेवा दिइँदै आएको छ । बगालेका अनुसार अस्पतालमा तला थप गरेर सघन उपचार कक्ष र पोष्टअप बनाइँदै छ ।
उनले प्रदेश स्तरको भएसँगै ५० श्ययाभन्दा माथिको अस्पताल बन्ने बताए । थप विशेषज्ञ सेवासहितको सुविधासम्पन्न अस्पताल बन्ने बगालेको भनाइ छ । वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयका नीति योजना तथा जनस्वास्थ्य महाशाखा प्रमुख सतीश विष्टका अनुसार यस क्षेत्रको जनघनत्वका आधारमा श्यया तय हुनेछ । आउँदो वर्ष अस्पतालमा प्रसूति भवन निर्माणका लागि रु एक करोड ५० लाख बजेट विनियोजन भइसकेको उनले जानकारी दिए । बहुवर्षीय योजनाअन्तर्गत सो भवन बन्नेछ ।
हाल वाग्मती प्रदेशका आठ जिल्लामा प्रदेश स्तरका अस्पताल छन् । थप पाँच जिल्लामा अस्पताल निर्माण गर्न लागिएको उनले जानकारी दिए । पूर्वी चितवनको रत्ननगर, खैरहनी, कालिका र राप्ती नगरपालिकासँगै मकवानपुरका सीमा क्षेत्रका जनतालाई सो अस्पतालले सेवा दिन सक्नेछ । त्यस क्षेत्रमा विशेषज्ञ अस्पताल नहुँदा बिरामी भरतपुर आउन बाध्य छन् ।
रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले यहाँको पुरानो सरकारी अस्पतालको प्रदेश सरकारले स्तरोन्नति गरेको भन्दै खुशी व्यक्त गरे । ‘हामीले पटकपटक सरकारलाई स्तर वृद्धिका लागि आग्रह गरेका थियौँ’ प्रमुख वनले भने– ‘अहिले आएर प्रदेश सरकारले हाम्रो आग्रह सुनेको छ ।’ उनले अस्पतालको स्तर वृद्धिमा आवश्यक सहयोगमा रत्ननगर नगरपालिका लागि पर्ने बताए । सो अस्पताल रत्ननगर नगरपालिकाको टाँडी बजार नजिकै छ ।
प्रकाशित मिति: १० असार २०७७, बुधवार १३:३७ बजे