५ माघ २०८१, शनिवार

धुलिखेल नगरको निति तथा कार्यक्रममा कृषि, स्वास्थ्य, पर्यटन, शिक्षा, पूर्वाधार र गरिवी निवारणलाई प्राथमिकता

धुलिखेल । धुलिखेल नगरपालिकाकाे निति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख अशोक ब्याञ्जुले कोरोना भाईरसले थला पारेको नागरिकहरुको जीवन सहज र सरल बनाउने नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको बताउनु भयो । नगर प्रमुख अशोक कुमार ब्याञ्जुले कृषि, स्वास्थ्य, पर्यटन, शिक्षा, पूर्वाधार र गरिवी निवारणलाई प्राथमिकता दिएको बताउनु भयो । आगामी आर्थिक वर्षका लागि नगरपालिकाको १ अर्व ११ करोड ११ लाख ११ हजारको बजेट प्रस्तुत गरेको नगर प्रमुख ब्याञ्जुले बताउनु भयो । बजेट सीमाबाट चालू खर्च ५१ करोड ४ लाख ४० हजार अर्थात ४५.९४ प्रतिशत र पूजिगत तर्फ ६० करोड ६ लाख ७१ हजार अर्थात ५४.०६ प्रतिशत हुने गरी बाँडफाँड गरिएको छ ।
धुलिखेल नगरको मेयर गरिवी निवारण कार्यक्रम प्रस्तुत गरिएको छ । त्यस्तै प्रत्येक नगरबासीको घरमा एकघर एकधारा कार्यक्रमलाई निरन्तरता दिएको छ । उपमेयर महिला उत्थान कार्यक्रम, उपमेयर सुत्केरी प्रोत्साहन कार्यक्रम ल्याएको छ ।
साथै धुलिखेलको आवाजः छुवाछुत मुक्त समाज निर्माण कार्यक्रम ल्याएको छ । विद्यार्थी शिक्षक साप्ताहिक भेटघाट गर्ने कार्यक्रम पनि रहेको छ । मेयरसँग विद्यार्थी कार्यक्रमलाई निरन्तरता दिएको छ ।
धुलिखेल नगरपालिकाले बालमैत्री नगर घोषणा आगामी आर्थिक वर्षमा गर्ने गरि निति तथा कार्यक्रममा समावेश गरिएको छ । धुलिखेल नगरलाई पूर्ण स्वस्थ शहर निर्माण अभियान साथै १५ शैयाको सरुवा रोग सम्वन्धी अस्पताल स्थापना, मृगौला विरामीका लागि डाईलोसिस सेवा विस्तार, कोभिड कोषमा जम्मा भएको १ करोडमा थप ५० लाख बिनियोजन , एक वडा एक उत्पादन, एक वडा एक नमुना सहकारी, एक सहकारी एक उत्पादन कार्यक्रम, एक वडा एक खेलमैदान, एक वडा एक पोखरी, एक वडा एक नर्सरी र एक वडा एक बाल उद्यान, मिडिया सेन्टरको स्थापना लगायतका महत्वपूर्ण कार्यक्रमहरु बजेटमा समेटिएको नगर प्रमुख ब्याञ्जुले बताउनु भयो ।

चालु वर्ष आ.व.२०७६/०७७ को संसोधित अनुमान ९१ करोड १३ लाख ३२ हजार बजेट मध्ये आय ६३ करोड ६५ लाख ९९ हजार र व्यय ४८ करोड ५ लाख ८३ हजार रुपैया रहेको उपप्रमुख विमला शर्मा चौलागाईले सभामा प्रस्तुत गरेको स्थिती समिक्षामा उल्लेख गरिएको छ ।

कोरोना भाईरसका बीच ५२.७४ प्रतिशत प्रगति भएको उपप्रमुख चौलागाईले बताउनु भयो । कोरोना रोगको जोखिमलाई मध्यनजर गरी ७० वर्ष माथिका सवै ज्येष्ठ नागरीक १५८४ जना, ६० वर्ष माथिका दलित ज्येष्ठ नागरीक ८५ जना र पूर्ण अपाङ्गता भएका व्यक्ति ७७ जना गरी जम्मा १७४६ जनाको रु ५० हजार बराबरको र नगरपालिका भित्र सरसफाइको लागि काम गर्ने २० जना सरसफाईकर्मीको १ लाख बराबरको कोरोना विमा गरिएको, नगरपालकाले लिने सवै प्रकारका व्यवसाय करमा लकडाउन अवधीभरको राजश्वमा दामासाहीले छुट दिईएको, नगरपालिकालाई तिर्न बुझाउन पर्ने सवै प्रकारका कर बक्यौता २०७७ आषाढ मसान्त सम्म बुझाएमा बक्यौतामा लाग्ने हर्जाना र जरिवाना शतप्रतिशत छुट दिइएको उहाँले बताउनु भयो । नगरपालिकामा ५ करोड लगानीमा ६ सय सिट क्षमताको सभा हल निर्माण तथा रु २ करोड लागतमा पर्यटकीय दृष्टिले महत्वपुर्ण देविस्थान पार्कको निर्माण तथा धुलिखेल मुख्य वजारमा सपिङ्ग कम्प्लेक्स निर्माण कार्य निर्माण भएको तथा धुलिखेल मनोरञ्जन पार्कमा कोशेलीघर तथा पसल कवल निर्माण गरिएको उहाँले बताउनु भयो । शैक्षिक हव, स्वस्थ शहर, बालमैत्री नगर जस्ता महत्वपूर्ण कार्यक्रममा नगरपालिकाले ध्यान दिएको नगर प्रमुख ब्याञ्जुले बताउनु भयो ।
सभामा आव २०७५/२०७६ को यथार्थ तथा २०७६/२०७७ को शंशोधित स्थिती समिक्षा प्रगति प्रतिवेदन र धुलिखेल नगरपालिकाको आर्थिक वर्ष २०७७÷२०७८ को आर्थिक विधेयक, विनियोजन विधेयक उपप्रमुख विमला शर्मा चौलागाईले प्रस्तुत गर्नु भएको थियो भने बार्षिक नीति तथा कार्यक्रम र बजेट नगर प्रमुख अशोक ब्याञ्जुले प्रस्तुत गर्नु भएको थियो ।

प्रकाशित मिति: १२ असार २०७७, शुक्रवार २०:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु