३० माघ २०८१, बुधवार

अविरल वर्षापछि सडकमा दर्जनौं पहिरो, सयौँ सवारीसाधन अलपत्र

जाजरकोट । तीन दिनदेखि परेको अविरल वर्षाका कारण जाजरकोट जोड्ने मुख्य सडक अवरुद्ध भएको छ । गएरातिदेखि अवरुद्ध भएको सडकमा दर्जनौं ठाउँमा पहिरो गएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए ।

छिन्चु–जाजरकोट सडकखण्डअन्तर्गत छेडाबजार–खलङ्गा सडक पूर्णरूपमा अवरुद्ध भएको छ । सडक अवरुद्ध भएसँगै सयौँ सवारीसाधन बीच बाटोमा रोकिएका छन् ।

भेरी नगरपालिकाको भुरचौरमा तीन ठाउँमा सडक भासिएको छ । त्यस्तै जाजरकोट–खलङ्गा–पाँचकाटिया हुँदै कुशे गाउँपालिकाको प्रशासकीय केन्द्र भार्मसम्म जोडने सडकसमेत अवरुद्ध भएको छ । लगातारको वर्षाका कारण भत्किएको सडक कहिलेसम्म निर्माण हुन्छ भन्ने अनुमान लगाउन गाह्रो भएको प्रजिअ पन्तले बताए ।

उनले भने, “सडक डिभिजनका प्रमुखले सडक भत्किएको ठाउँमा गएर कामलाई तीव्रता दिनुभएको छ, जतिसक्दो छिटो निर्माण गर्ने तयारी छ ।”

त्यस्तै जिल्ला प्रशासन कार्यालयको पर्खालसमेत भत्किएको छ । शिवालय गाउँपालिका–१ स्थित छेडाबजारमा पहिरो आउँदा तीन घर भत्किएका छन् । लगातार पानी परेपछि गाउँगाउँमा टेलिफोन टावर अवरुद्ध हुँदा सञ्चार सेवासमेत अवरुद्ध भएको छ ।

प्रकाशित मिति: १६ असार २०७७, मंगलवार १७:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु