६ फागुन २०८१, मंगलवार

कैलालीको कैलारी गाउँपालिकामा अनिश्चितकालीन लकडाउन

धनगढी । कैलालीको कैलारी गाउँपालिकामा आजदेखि अनिश्चितकालका लागि बन्दाबन्दी (लकडाउन) गरिएको छ । गाउँपालिकामा कार्यरत एक जना स्वास्थ्यकर्मीसहित क्वारेन्टाइनमा खाना पकाउने भान्छे र विद्यालयका चौकीदारमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सो गाउँपालिकामा बन्दाबन्दी गरिएको हो ।

गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीको अध्यक्षतामा आज बसेको आकस्मिक बैठकले कोरोना भाइरसको सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि लकडाउन गर्ने निर्णय गरेको थियो । सोही निर्णयबमोजिम अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि आजैबाट लकडाउन गरिएको गाउँपालिकाका सूचना अधिकारी यगम कलेलले जानकारी दिनुभयो ।

लकडाउन गरिएसँगै गाउँपालिकाभित्र रहेका सम्पूर्ण बजार बन्द गरिएको छ । यसैगरी, आवतजावतमा कडाइका साथै सवारी सञ्चालनमा रोक लगाइएको छ । बाहिरका मान्छेलाई गाउँपालिका प्रवेशमा पनि रोक लगाइने गाउँपालिकाका योजना शाखा प्रमुख सन्तोषकुमार चौधरीले जानकारी दिनुभयो ।

‘समुदायमा कोरोना फैलिन नपाओस् र भोलिको दिनमा भयावह स्थितिको सामना गर्न नपरोस भनेर बन्दाबन्दी गरिएको हो’, उहाँले भन्नुभयो । ‘यसलाई हामी कडाइका साथ लागू गर्छौँ ।’ उहाँले चाडपर्व आउन थालेपछि भारतबाट फर्किने व्यक्ति पुनः बढेको उल्लेख गर्नुभयो ।

सो गाउँपालिकामा कार्यरत एक जना स्वास्थ्यकर्मीसहित सात जनामा हिजो कोरोना सङ्क्रमण पुष्टि भएको थियो । हसुलियास्थित दीपेन्द्र माध्यमिक विद्यालयको क्वारेन्टाइनमा खटेका ल्याब टेक्निसियन, चौकीदार र भान्छेमा कोरोना देखिएपछि समुदायमा फैलिने खतरा पनि बढेको छ ।

कर्मचारीलगायत व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङ र स्वाब सङ्कलनको कार्य भइरहेको सो गाउँपालिकाका स्वास्थ्य संयोजक वीरेन्द्र सापकोटाले जनाउनुभयो ।

प्रकाशित मिति: २१ साउन २०७७, बुधवार १६:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु