२ माघ २०८१, बुधवार

पर्सामा थप ५४ जनामा संक्रमण चार दिनमा ३१६ नयाँ थपिए

वीरगञ्ज । पर्सामा प्रहरी र स्वास्थ्यकर्मीसहित थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्जको नारायणी अस्पतालमा रहेको प्रयोगशालामा शुक्रबार अबेर राति गरिएको परीक्षणमा पर्र्साका थप ५४ जनामा संक्रमण पुष्टि जिल्ला प्रशासन कार्यालय पर्सामा अधिकृत विनय श्रीवास्तवले पुष्टि गर्नुभयो । अधिकृत श्रीवास्तवका अनुसार शुक्रबार राति गरिएका ४५० वटा स्वाबको नमुना परीक्षणमा पर्साका ५४ जनामा संक्रमण पुष्टि भएको हो ।
शुक्रबार राति संक्रमण पुष्टि भएका ५४ जनामध्ये सबैभन्दा बढी पर्सागढी नगरपालिकाका २५ जना , वीरगञ्ज महानगरपालिकाका विभिन्न वडाका १८ जना , पकाहामैनपुर गाउँपालिकामा २ जना स्वास्थ्यकर्मी सहित ३ जना , ठोरी गाउँपालिका र पटेर्वासुगौली गाउँपालिकामा ३÷३ जना र सखुवा प्रसौनी गाउँपालिकाका १ जना रहेका छन् ।
थपिएका ५४ जना संक्रमितमा जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत एक प्रहरीमा पनि रहेका छन् । आज ५४ जना नयाँ संक्रमित थपिएसंगै पर्सामा संक्रमितको संख्या एक हजार ७९० पुगेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
संक्रमितहरुसंग सम्बन्धित सूचनाहरु जिल्ला प्रशासन कार्यालयले बिगत २ दिन देखि परिक्षण भएको करिब २४ घण्टा पछि साँझ ५ बजे फेसबुक पेज मार्फत सार्वजनिक गर्दै आएको भएपनि आज शनिबार भने पौने १ बजे सार्वजनिक गरेको थियो । सूचना एकद्वार नीतिको नाममा जिल्ला प्रशासन कार्यालयले मात्र दिन थालेपछि चहिएको सूचना समयमा पाउन नसकिएको गुनासो सञ्चारकर्मीहरुको रहेको छ ।
पर्सामा पछिल्लो चार दिनमा ३१६ संक्रमित थपिए
पर्सा जिल्लामा यही भाद्र ३ गते देखि आज ६ गते मध्यान्हसम्म ३ सय १६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । भाद्र ३ गते ९७ पुरुष सहित १ सय ३२ जना , भाद्र ४ गते ४५ जना पुरुष सहित ५५ जना , भाद्र ५ गते ५१ जना पुरुष सहित ७५ जना र भाद्र ६ गते ४७ जना पुरुष सहित ५४ जना गरी पछिल्लो चार दिनमा ३ सय १६ नयाँ संक्रमित थपिएका हुन् । यस अवधिमा उपचाररत २२ संक्रमितहरु कोरोना मुक्त भई डिस्चार्ज भएका थिए ।
पर्सामा पछिल्लो चार दिनमा पाँच संक्रमित मृत्यु
पर्सा जिल्लामा यही भाद्र ३ गते देखि आज ६ गते मध्यान्हसम्म ५ जना संक्रमितहरुको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । भाद्र ३ गते दिउसो सवा ४ बजे एक जना संक्रमित, भाद्र ४ गते बेलुकी पौने ७ बजे १ जना संक्रमित र भाद्र ५ गते दिउसो १ बजे तथा राती ८ बजे गरी २ जना संक्रमित र भाद्र ६ गते बिहान ७ बजे १ संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित मिति: ६ भदौ २०७७, शनिवार १४:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु