६ असार २०८२, बिहीवार

सानाे जिल्ला भक्तपुरमा ३०७ सङ्क्रमित, बढी सङ्क्रमण मध्यपुर थिमिमा

भक्तपुर । भक्तपुरमा समुदायस्तरमै कोरोना सङ्क्रमण फैलिएको स्वास्थ्य कार्यालय भक्तपुरले निष्कर्ष निकालेको छ । जिल्लाका चारमध्ये बढी मध्यपुरथिमि नगरपालिकामा सङ्क्रमण समुदायमा फैलिएको निष्कर्ष रहेको कार्यालयका प्रमुख कृष्णबहादुर मिजारले जानकारी दिनुभयो । आजसम्म जिल्लामा कुल ११३ महिला र १९४ पुरुष गरी कूल ३०७ मा कोरोना सङ्क्रमण भएको कोभिड सूचना व्यवस्थापन केन्द्रका अस्मिता पवनले जानकारी दिनुभयो । मध्यपुरथिमि नगरपालिकामा ५१ महिला र ६३ पुरुष गरी ११४ मा सङ्क्रमण रहेको उहाँले जानकारी दिनुभयो ।

मध्यपुरथिमि पछि सूर्यविनायक नगरपालिका क्षेत्रमा सङ्क्रमण बढ्दै छ । सूर्यविनायक नगरपालिकामा २७ महिला र ५० पुरुष गरी ७७ा, भक्तपुर नगरपालिकामा २२ पुरुष र २५ महिला गरी ४७, र सबभन्दा कम चाँगुनारायण नगरपालिकामा भने सशस्त्र प्रहरीसहित पाँच महिला र ३४ पुरुष गरी ३९ जनामा सङ्क्रमण पुष्टि भएको छ । जिल्लामा आज थप भएकोमा भक्तपुर नगरपालिकामा एक महिलासहित तीन पुरुष, मध्यपुरथिमिमा एक नाै वर्षीय बालक र छ महिला र सूर्यविनायकमा एक पुरुष र दुई महिलामा कोरोना सङ्क्रमण भएको छ भने चाँगुनारायणमा सङ्क्रमण नभएको स्वास्थ्य कार्यालय प्रम्ख मिजारले जानकारी दिनुभयो ।

चाँगुनारायण नगरपालिकाअन्तर्गत सशस्त्र प्रहरी बल गुहेश्वरी गण दुवाकोटमा कार्यरत २० प्रहरीलाई गत शनिबार एकैसाथ सङ्क्रमण देखिएको थियो । चाँगुनारायणको स्थानीयस्तरमा भने महिला पाँच र पुरुष १४ रहेको केन्द्रका पवनले जानकारी दिनुभयो । सङ्क्रमितमध्ये दुई को मृत्यु भएको, ६४ निको भएर घर फर्किएको, ९१ जना होम आइसोलेसनमा रहेको, दुई जना सम्पर्कमै नआएको, डाक्टर तथा नर्स गरी तीन जनाको अन्यत्र उपचार भइरहेको, केहीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । खरिपाटीस्थित विद्युत प्राधिकरणको आइसोलेसनमा ११ महिला र पाँच पुरुष रहेका छन् । विदेशबाट आएका तर लक्षण नदेखिएका सङ्क्रमितलाई पनि यहाँ राख्ने गरिएको छ ।

कोरोना भाइरस सङ्क्रमणबाट भक्तपुरमा स्थानीय दुई जनाको मृत्यु भएको छ । गत शनिबार एक जना सूर्यविनायक निवासी एक ७२ वर्षीय पुरुषको उपचारकै क्रममा काठमाडौँको मेडिकेयर अस्पतालमा मृत्यु भएको हो । यसअघि सूर्यविनायक नपा १ निवासी ६८ वर्षीया एक महिलाको उपचारको क्रममा पाटन अस्पतालमा मृत्यु भएको थियो । आइतबार पनि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कोरोना भाइरस सङ्क्रमित एक पुरुषको उपचारको क्रममा मृत्यु भएको थियो । मिर्गौलाका बिरामी बुटवल उपमहानगरपालिका–११ घर भएका कोरोना सङ्क्रमित ५४ वर्षीय पुरुषको पाटन अस्पतालमा उपचार भइरहेको र आइतबार डायलासिसका लागि भक्तपुर ल्याइएकोमा उपचारकै क्रममा मृत्यु भएको थियो । भक्तपुरमा गएको वैशाख ३० गते पहिलोपटक दुई जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो । ती दुवै जिल्ला बाहिरका बासिन्दा थिए ।

प्रकाशित मिति: ८ भदौ २०७७, सोमवार १८:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु