केन्द्रीय कारागारका ५० कैदीबन्दी र ५० सुरक्षाकर्मीलाई सङ्क्रमण
काठमाडौँ । जगनाथदेवल सुन्धारास्थित केन्द्रीय कारागारका ५० जना कैदीबन्दी र ५० जना सुरक्षाकर्मीसहित एक सयजनामा कोरोना सङ्क्रमण देखिएको छ । मुलुकको पुरानो र सबैभन्दा बढी कैदीबन्दी रहेको सो कारागारमा उच्च स्वास्थ्य तथा सुरक्षा सतर्कता अपनाउँदा–अपनाउँदै पनि कोरोना सङ्क्रमण देखिएको कारागार व्यवस्थापनले जनाएको छ ।
केन्द्रीय कारागार जगनाथदेवल प्रमुख लक्ष्मीप्रसाद बास्कोटाले ५० जना कैदीबन्दी र ५० जना सुरक्षाकर्मी गरी एकसयजनामा कोरोना सङ्क्रमण देखिएको बताउनुभयो । तर, अधिकांश सङ्क्रमितमा लक्षण देखिएको छैन । ‘दुईजनालाई सात दिनमै निको भइसक्यो’ उहाँले भन्नुभयो, लक्षण देखिएकालाई अस्पताल तथा आइसोलेसन केन्द्रमा लैजाने र सामान्यलाई कारागारमै राखेर योगा तथा घरेलु उपचार विधि अपनाई उच्च मनोबलका साथ प्रतिरोधात्मक क्षमता विस्तार गर्ने कार्य भइरहेको छ ।
केन्द्रीय कारागारमा तीनहजार दुईसय ६३ जना कैदीबन्दी रहेका छन् । ती मध्ये केही दीर्घरोगी तथा केहीलाई औषधि उपचारका लागि नियमित अस्पताल लैजानु पर्ने भएकाले कोरोना सङ्क्रमण फैलिएको हुनसक्ने जनाइएको छ । कारागार प्रमुख बास्कोटाले विरामी कैदीबन्दीलाई अस्पताल लैजाने र ल्याउने क्रममा कोरोना सङ्क्रमण देखापरेको बताउनुभयो । ‘सङ्क्रमण भित्रिन नदिन जेलभित्र उच्च सतर्कता अपनाएका छौं, तर पनि उपचारका लागि अस्पताल जानै पर्ने भएकाले सङ्क्रमण भित्रिएको हो’ उहाँले थप्नुभयो ।
कारागार व्यवस्थापनले वाह्य व्यक्तिसँगको भेटघाट, कागजपत्र तथा नगद उपलब्ध गराउने जस्ता सम्पूर्ण कार्य स्थगित गरेको छ । औषधि उपचारका लागि अस्पताल लैजाने तथा ल्याउने बाहेकका अन्य सेवा पनि पूर्णरुपमा बन्द गरेको छ । ललितपुरको नख्खुस्थित कारागारले पनि कैदीबन्दी र तीनका आफन्तलगायत वाह्य व्यक्तिसँगको भेटघाट पूर्णरुपमा निषेध गरेको छ । स्वास्थ्य उपचारमा जाने कैदीबन्दी र सुरक्षाकर्मीलाई केही दिन क्वारेण्टाइन र त्यसपछि पिसिआर परीक्षण अनिवार्य गरेको छ ।
कारागार व्यवस्थापन विभागका प्रवक्ता देवर्षि सापकोटाका अनुसार, उपत्यकाको नख्खु र डिल्लीबजार कारागारमा कोरोना सङ्क्रमण देखिएको छैन । नख्खुमा एकहजार पाँचसय ६० कैदीबन्दी, एकसय ३० जना सुरक्षाकर्मी र कर्मचारी गरी करिब सातसय ५० जना कर्मचारी छन् ।
त्यस्तैं, डिल्लीबजार सदरखोर कारागारमा पाँचसय २१ कैन्दीबन्दी छन् । यहाँ उच्चतहका कैदीबन्दी बस्ने भएकाले अन्य कारागारको तुलनामा विशेष किसिमको सतर्कता अपनाइएको छ । कैदीबन्दी, कर्मचारी र सुरक्षाकर्मीका लागि छुट्टाछट्टै स्वास्थ्य तथा सुरक्षा मापदण्ड अपनाईएको छ ।
कारागारमा कोरोना सङ्क्रमण देखा परेपनि आवश्यक व्यवस्थापन तथा उपचारका लागि पूर्णतयारी गरिएको विभागले जनाएको छ । सुरक्षाकर्मी कै निगरानीमा सङ्क्रमित कैदीबन्दीलाई क्वारेण्टाइनमा राख्नेदेखि औषधि उपचारको व्यवस्था गरिएको छ ।
विभागका अनुसार, हालसम्म केन्द्रीय कारागारसहित सातवटामा कोरोना सङ्क्रमण देखिएको छ । ती मध्ये वीरगन्जमा ३३ जना, नेपालगन्जमा आठ, सिराहामा तीन, सुनसरीमा आठ, स्याङ्जामा एक र सिन्धुपाल्चोकमा दुई गरी ५५ जना मध्ये ४७ जना निको भइसकेका छन् ।
प्रकाशित मिति: १४ भदौ २०७७, आइतवार २०:३६ बजे