गोरखा अस्पतालमा मृत्यु भएकी वृद्धामा कोरोना सङ्क्रमण पुष्टि
गोरखा । उपचारका क्रममा गोरखा अस्पतालमा मृत्यु भएकी वृद्धामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल गोरखा दिएको जानकारी अनुसार शनिबार दिउँसो ४ः३० बजे निधन भएकी ७५ वर्षीय वृद्धाको पीसीआर रिपाेर्ट काेभिड पोजिटिभ आएको हो ।
गोरखा नगरपालिका-७, धारापानी निवासी वृद्धा एक्कासि बेहोस भएपछि उहाँलाई शनिबार दिउँसो १२ः२० बजे गोरखा अस्पतालको आपतकालीन कक्षमा भर्ना गरिएको थियो । उहाँको परिवारका तीन जना सदस्यहरू शुक्रबार कोरोना पोजिटिभ भएको रिपाेर्ट सार्वजानिक भएकाे थियो । सोही अनुरुप उहाँको पनि शनिबार नै स्वाब सङ्कलन गरी पीसीआर परीक्षणका लागि पठाइएको थियो । आइतबार रिपाेर्ट पोजिटिभ आएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन नवीन थापाले विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ । उहाँको उपचारमा संग्लन चिकित्सक एवम् अन्य स्वास्थ्यकर्मीको पनि स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाइएको अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले बताउनुभयो । उहाँहरूको भने रिपाेर्ट नआएकाले क्वारेन्टिनमा राखिएको छ ।
अस्पतालको आइसीयूमा उपचाररत व्यक्तिको मृत्यु भएपछि केही समय आइसीयू बन्द गरिएको थियो । निर्मलीकरणपछि अहिले भने आइसीयू सञ्चालनमा आइसकेको गोरखा अस्पतालले जानकारी दिएको छ ।
प्रकाशित मिति: २१ भदौ २०७७, आइतवार १३:०४ बजे