शान्तिपूर्वक तानियो रातो मत्स्येन्द्रनाथको रथ

काठमाडौँ । वर्षा र सहकालका देवता रूपमा परिचित रातो मत्स्येन्द्रनाथको रथ आइतबार बाजागाजासहित ललितपुरको पुल्चोकबाट केही मिटर परसम्म तानिएको छ ।
दिउँसो ३.०० बजे रथ तान्न सुरु भएको र सो रथ ललितपुर महानगरपालिका भवन अगाडिको सोह्रखुट्टे पाटीसम्म पुर्याइएको थियो । मीननाथको रथ भने गाःबहालबाट पुल्चोकसम्म पुर्याउनुको साथै गुर्जुपल्टनले सलामीसमेत दिइएको थियो ।
कोरोना (कोभिड १९) को महामारी तथा सरकारले जारी गरेको निषेधाज्ञाको कारण मत्स्येन्द्रनाथको रथ तान्ने रोकिएको थियो । रथ तान्नुपर्ने दबाबसहित विभिन्न संस्कृति अभियन्ता तथा पुल्चोकका स्थानीयले दबाब दिँदै आएका थिए ।
सङ्घीय सांसद पम्फा भुषाल, ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनलगायत व्यक्ति पनि रथ यात्रामा उपस्थित हुनुहुन्थ्यो ।
मेयर महर्जनले रथ यात्रामा व्यवस्थित भएको र कुनै पनि अप्रिय घटना नभएकोमा खुसी व्यक्त गर्दै भन्नुभयो, ‘संस्कृतिको साथै मानव जीवनलाई पनि बचाउन उत्तिकै आवश्यक छ ।’
विभिन्न १९ जातीय खलः पुचःका ५०१ स्वयंसेवक खटाएर रथको मर्मत सम्भार गराउनुका साथै रथ तान्ने व्यवस्थापनसमेत गराइरहेको गुठी संस्थानका प्रवक्ता सरोज थपलियाले जानकारी दिनुभयो ।
ज्यापू समाजका संयोजक चन्द्र महर्जनले मुलुकमा दिनानुदिन फैलिरहेको कोरोना महामारीका कारण यसपटक लोकनाथलाई टोलटोलमा लगेर रथयात्रा तथा जावलाखेल पुर्याएर भोटोजात्रा गर्न सम्भव नहुँदा तीन–तीन फिट वा छ फिटको दूरीमा हरेक मानिसलाई राखेर हातैले रथ तानेको जानकारी दिनुभयो ।
लोकनाथ र मीननाथको दुवै रथ तान्न १९ जातीय खलका मानिसका साथै पाटनका विभिन्न टोलका चारदेखि पाँच जना मानिस सहभागी हुने महानगरपालिकाले जनाएको छ ।
संयोजक महर्जनले भन्नुभयो, ‘रथयात्रामा सहभागी हुने मानिसलाई पूर्णरूपमा कोभिड–१९ को मापदण्ड अपनाउन लगाउने छाैँ ।” रथयात्रा सम्पन्न भएपश्चात् पाटनवासीले आज घरघरमा ‘छाेयलाबु पर्व’ मनाउने महर्जनले जानकारी गराउनुभयो ।
विगतका वर्षझैँ यसवर्ष टोलटोलमा रथयात्रा गर्न नसकेकाले हिजो र शुक्रबार देशमा कुनै अनिष्ट नहोस् भनेर क्षमापूजा गरिएको थियो । आउँदो शुक्रबार सम्भव भएसँगै मत्स्येन्द्रनाथलाई बुङ्मती पठाउने कुरा अघि बढिरहेको महर्जनको भनाइ छ ।
प्रकाशित मिति: २१ भदौ २०७७, आइतवार १९:०८ बजे