धुलिखेल नगरपालिकाले शुरु गर्यो ५० बेडको आइसोलेसन वार्ड

धुलिखेल । धुलिखेल नगरपालिकाले ५० बेडको आइसोलेसन वार्ड तयार पारेको छ । दैनिक कोरोना सङक्रमित बढ्दै गएपछि नगरले ५० बेडको आइसोलेसन तयार पारेको हो ।
बुधबार मात्र जिल्लामा ३४ सङक्रमित भेटिएकामा ३० जना धुलिखेल नगरभित्रका थिए । धुलिखेल नगरपालिकाका नगरप्रमुख अशोककुमार ब्याञ्जूले यसअघि नगरले तयार पारेको १०० बेडको क्वारेन्टाइनमध्ये ५० बेडलाई आइसोलेसन बनाएको बताउनुभयो । उहाँका अनुसार नगरले आइसोलेसन वार्डका लागि चाहिने आवश्यक अक्सिजन, स्वास्थ्यकर्मी र बिरामीहरूको उपचारका लागि आवश्यक पर्ने अन्य पूर्वाधारहरू तयार गरेको छ ।
नगरले तयार पारेको आइसोलेसन वार्डमै राखेर सङक्रमितको उपचारसमेत सुरु गरिएको नगरपालिकाले जनाएको छ । धुलिखेल नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सन्दिप केसीले धुलिखेलका नागरिकलाई कोरोना परीक्षण गर्न असहज नहोस् भन्नका लागि नगरभित्रका एक हजार जनाको पीसीआर परीक्षण नगरले गरिरहेको बताउनुभयो । उहाँका अनुसार बुधबार सम्मका ९७० जनाको परीक्षण भइसकेको छ । परीक्षणका क्रममा धुलिखेल नगरपालिका वडा न ९ काभ्रेभज्ञ्याङमा २५ जना सङक्रमित भेटिएका थिए । धुलिखेल नगरपालिकामा मात्र ९५ सङक्रमित पुगिसकेका छन् । नगरपालिकाले कोरोना सङक्रमण नियन्त्रणका लागि जनचेतना अभियान, क्वारेन्टाइन व्यवस्थापन, आइसोलेसन व्यवस्थापन, समय मै कन्ट्याक्ट् ट्रेसिङलगायतका काम गरिरहेको जनाएको छ ।
त्यस्तै जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले पनि जिल्लाका स्थानीय तहमा निर्माण भएका क्वारेन्टाइनलाई ५० प्रतिशत आइसोलेसन बनाउन अनुरोध गरेको छ । प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलको अध्यक्षतामा बसेको बैठकले जिल्लामा सङक्रमित दिनानुदिन बढिरहेको सन्दर्भलाई दृष्टिगत गरी हाललाई जिल्लास्थित सबै पालिकाहरूमा रहेका क्वारेन्टाइन बेडमध्ये ५० प्रतिशत बेडलाई आइसोलेसन बेडको रुपमा प्रयोग गर्ने व्यवस्था मिलाउन अनुरोध गरिएको छ ।
जिल्लाका १३ स्थानीय तहमा ८४५ बेडको क्वारेन्टाइन तयार भएका थिए । त्यस्तै बनेपामा ५६, धुलिखेलमा ३१, पाँचखालमा सात, पनौती र नमोबुद्ध नगरपालिकामा छ/छ बेडको आइसोलेसन तयार भएका थिए ।
प्रकाशित मिति: २५ भदौ २०७७, बिहीवार १४:१८ बजे