धुलिखेलमा बुद्ध पार्क उत्घाटन (फोटो फिचर)

धुलिखेल । धुलिखेल नगरपालिका वडा नं ४ मा बखुन्डोलमा रु. २८ लाखमा निर्मित बखुन्डोल बुद्ध पार्क नगर प्रमुख अशोक ब्याञ्जुले उत्घाटन गर्नु भयो । बखुन्डोल बुद्ध पार्क रु २८ लाखमा नगर पालिका, जिल्ला बन कार्यालय, रोटरी क्लब र स्थानीय बासीको सहभागितामा निर्माणकार्य सम्पन्न भै उद्घाटन भयो ।
सहरीकरण बढी रहेकोले खुला सार्वजनिकस्थल मासिँदै गएका बेला धुलिखेल नगरपालिकाअन्तर्गत २८ किलो चोकबाट दक्षिणतर्फ काठमाडौं विश्वविद्यालय जाने सडकछेउमा रहेको बखुन्डोलमा बुद्धपार्क निर्माण भएको छ । पार्कको एकातर्फ गौतम बुद्धको मूर्ति छ भने अर्काेतर्फ कृष्णको मूर्ति, सँगै पानीको झरना अत्यन्तै आकर्षक देखिन्छ । हरियो दुबोमाथि खेलिरहेको जस्तो देखिने ठाउँठाउँमा बाघ, हरिण, खरायोको मूर्ति बनाइएको छ साथै उक्त पार्कमा बालबालिका खेल्ने पिङ्ग पनि राखिएको छ । दिनभरिको थकान मेट्न साँझपख पार्कमा केही समय विश्राम गर्न जाँदा आनन्दको अनुभूति हुने स्थानीय बताउँछन् ।
बखुन्डोल बुद्ध पार्क उद्घाटन २६ भदौमा भएको उपभोक्ता समितिका अध्यक्ष सत्यमान लामाले बताए । पार्क उद्घाटन गर्दा सामाजिक दूरी कायम गरिएको उनी बताउँछन् ।
धुलिखेल नगरपालिकाले एक वडा एक पार्कको योजना अगाडि बढाएको छ । जनप्रतिनिधि आएपछि एक वर्षमा प्रत्येक वडामा कम्तीमा एउटा पार्क निर्माण गर्ने र पाँच वर्षमा कम्तीमा ६० वटा पार्क निर्माण गर्ने नगरपालिकाको योजना छ रहेको कुरा नगर प्रमुख अशोक ब्याञ्जुले उत्घाटन कार्यक्रममा बताउनुभयो । सरकारी सहयोग र स्थानीयको प्रयासमा बुद्धपार्क निर्माण गरिएको हो ।
प्रकाशित मिति: २७ भदौ २०७७, शनिवार १६:२८ बजे