कोरोनाको महामारीले छेकेन धुलिखेलमा ‘विकास’(फोटो फिचर) सहित
धुलिखेल । कोरोनाको महामारी चलिरहेको छ । त्रासमा रोकिएका दैनिक जीवनहरु सहज बनाउन प्रयास भए पनि नियमितता आउन सकेका छैनन् । यस्तो महामारीका बीच पनि धुलिखेल नगरपालिकामा भने निरन्तर विकासले गति लिएको छ । कोरोनाले छेक्न नसकेको विकासले धुलिखेल नगरपालिकाले लिएको लक्ष्य पक्डिरहेको छ । गत आर्थिक वर्षमा कोरोनाको त्रासको बीचमा नगरपालिकाले ९५ प्रतिशत निर्माणको कार्य सम्पन्न गरेको छ ।
कोरोनाकै महामारीका बीच चालु आर्थिक वर्षको शुरुवात देखि नै नगरपालिकाले पार्क, भौतिक पूर्वाधार अन्र्तगत सडक पीच, क्याम्पस तथा स्वास्थ्य चौकीको भवन निर्माण कार्य जारी राखेको छ । ३२ वटा पार्क निर्माण सम्पन्न गरेको धुलिखेलले चालु वर्षमा १५ वटा पार्क निर्माण कार्य सम्पन्न गर्नेछ भने आगामी वर्षमा १८ वटा पार्क निर्माण गरी पाँच वर्षमा ६५ वटा पार्क निर्माण गर्न लक्ष्य पूरा गर्ने नगर प्रमुख अशोक ब्याञ्जुले जानकारी दिनुभयो । महामारीका बीच धुलिखेल नगरपालिकाबाट निर्माण कार्य हुँदै गरेको करिब ३ सय ६० रोपनीको ल्याण्ड पुलिङ्ग (आवास क्षेत्र) लाई आन्तिम चरणको कार्य गर्न नगर विकास कोषको तर्फबाट आर्थिक लगानी ५ करोडसम्म लगानी गर्ने उद्देश्यले स्थलगत निरीक्षण गरिएको छ ।
धुलिखेल नगरपालिका वडा नम्वर ४ स्थित भूमि ब्यबस्थापन जाने मार्ग निर्माण कार्य भईरहेको छ । कोरोनाले उक्त सडक निर्माणलाई कुनै असर पारेको छैन । सामाजिक दूरी सहितको सुरक्षा मापदण्ड पूरा गरी उक्त सडक निर्माण कार्य भईरहेको छ । त्यस्तै धुलिखेल नगरपालिका वडा नम्वर ७ सुपारिटार मार्गमा ६० प्रतिशत नगरपालिका र ४० प्रतिशत जनसहभागितामा बाटो ढलान कार्य भएको छ । निर्माण कार्यको नगरपालिकाका प्रमुख अशोक ब्याञ्जु, उपप्रमुख विमला शर्मा, प्रमुख प्रशासकिय अधिकृत पुरुषोतम सुवेदी, लेखा अधिकृत धनबहादुर बस्नेत, वडा अध्यक्षहरु, जनप्रतिनिधि एवं कर्मचारीहरुले अनुगमन गरिरहेका छन् ।
लकडाउनकै अवधीमा धुलिखेल–भट्टेडाँडा–काभ्रे–भञ्ज्याङ्ग सडक पिच भएको छ । धुलिखेल नगरपालिका वडा नम्वर ७ को स्वास्थ चौकी भवन निर्माण कार्य भईरहेको छ । धुलिखेल नगरपालिकाबाट कार्यान्वयन हुने गरि बिनियोजित बागमती प्रदेश सरकारबाट प्राप्त ४० लाखको लागतमा निर्माण कार्य भएको धुलिखेल नगरपालिका वडा नम्वर ४ छापगाउँ सडक पिच उपभोक्ता समिति मार्फत निर्माण भएको छ । धुलिखेल नगरपालिका भित्रका १ हजार नागरिकलाई कन्ट्याक्ट ट्रेसिङ गरि पिसिआर परिक्षण गराउने कार्य अन्र्तगत धमाधम भईरहेको छ । एक हजार भन्दा धेरै नागरिकको परिक्षण सकिएको स्वास्थ्य शाखा प्रमुख सन्दिप केसीले जानकारी दिनु भएको छ ।
प्रत्येक वडामा सडक तथा अन्य पूर्वाधार निर्माणको कार्य भईरहेको वडा अध्यक्षहरुले जानकारी दिनु भएको छ । नागरिकहरुको जीवनलाई सुरक्षित बनाउँदै निर्माणको कार्यलाई प्राथमिकतामा राखेको प्रवक्ता पुष्प राउतले जानकारी दिनुभयो ।
स्वच्छ नगरका स्वस्थ नागरिक
३२ वटा पार्क निर्माण, १५ वटा निर्माणाधीन, ६५ वटाको तयारी
धुलिखेल नगरपालिका वडा नम्वर ४ स्थित २८ किलोबाट काठमाडांै विश्वविद्यालय चोक जाने सडकको छेउमै रहेको सार्वजनिक जग्गामा केहि महिना अघि फोहोरको थुप्रो थियो । धुलिखेल नगरपालिका, डिभिजन बन कार्यालय र स्थानीयहरुको प्रत्यक्ष सहभागिता, समन्वय, सहकार्य र साझेदारीतामा उक्त क्षेत्र फोहोरको डंगुर भएको स्थानबाट आकर्षक र नमुना पार्कको रुपमा विकास भएको छ । शुक्रबार धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले पार्कको उद्घाटन गर्नु भएको थियो । उक्त पार्क निर्माणका लागि २६ लाख रुपैयाँ खर्च भएको छ । नगर भित्रका आकर्षक पार्कहरु मध्ये यो दोश्रो पार्क हो । पहिलो सरस्वती बजारमा रहेको पार्क सर्वसाधारणका लागि आकर्षक बनेको छ ।
स्वस्थ नगरका परिभाषा धेरै छन् । तर पनि आधारभूत आवश्यकता पूरा भएको नगरका नागरिकहरु स्वस्थ हुन्छन् भन्ने विश्वास छ । त्यसको मापदण्ड पनि त्यहि हो । स्वस्थ शहर निर्माणका लागि धुलिखेल नगरपालिकाले शुरु गरेको रणनीतिक अभियानले मुर्त रुप पाउँदै गएको छ । स्वस्थ शहरका लागि सबै वडामा बालमैत्री पार्क, युवाहरुका लागि खेल मैदान तथा अन्य पूर्वाधारहरुको निर्माण, गुणस्तरीय खानेपानी, शिक्षा, स्वास्थ्य लगायतका आधारभुत आवश्यकताहरु पूरा भएको मानिनेछ । धुलिखेल नगरपालिकाले त्यसकै तयारी स्वरुप ५ वर्ष भित्र ६५ वटा पार्क निर्माणको लक्ष्यलाई मूर्त रुप दिदैछ । गत आर्थिक वर्ष भित्र नगरपालिकाले ३२ वटा पार्क निर्माण गरिसकेको छ भने चालु वर्षमा १५ वटा पार्क निर्माण हुनेछन् । आगामी वर्ष बाँकी पार्कहरुको निर्माण कार्य सम्पन्न हुने नगरपालिका प्रमुख अशोक ब्याञ्जुले जानकारी दिनुभयो । पार्कहरुका कारण नागरिकहरुको ब्यक्तिगत स्वास्थ्य र दिनचर्यालाई थप उर्जावान बनाउन मद्दत पु¥याउने छ । घर बाहिर निस्कन कठिन हु्ने अवस्थामा स्वच्छ पार्कहरुले नागरिकहरुलाई थप उर्जा दिदै स्वस्थ शहरको स्वस्थ नागरिक तयार गर्ने अभियान पुरा हुनेछ ।
धुलिखेलमा जनप्रतिनिधि निर्वाचित भए लगत्तै शुरु भएको पार्क निर्माण अभियान जारी छ । यो अवधीमा निर्माण भएका पार्कहरुहरु यसप्रकार छन् । पार्कलाई वडा स्तरीय बालमैत्री पार्क, नगर स्तरीय पार्कका रुपमा बर्गिकरण गरेर निर्माण कार्यलाई तिब्र बनाईएको छ । १२ वटा वडामा पाँच वर्षमा ६० वटा पार्क निर्माण हुनेछन् । नगर स्तरीय पार्क पाँचवटा गरी नगरपालिकाले पाँच वर्षमा ६५ वटा पार्क बनाउने नगर प्रमुख अशोक ब्याञ्जुले जानकारी दिनुभयो । पार्कसँगै नगरपालिकाले फोहोरमैला तथा ढल ब्यवस्थापन, सरसफाईलाई पनि प्राथमिकतामा राखेको छ । जनसहभागिता, संघ, प्रदेश र नगरपालिकाको पार्क निर्माणमा झण्डै ३ करोड लगानी रहेको नगरपालिकाका प्रवक्ता पुष्पराज राउतले जानकारी दिनु भयो ।
यि हुन् निर्माण सम्पन्न भएका पार्कहरु
वडा नम्वर १ बगैचा चउर बाल पार्क
वडा नम्वर २ राजन कोईराला स्मृति पार्क
वडा नम्वर ३ कुत्ताल पार्क (बुद्धको मूर्ति सहित)
वडा नम्वर ४ बुद्ध र कृष्ण पार्क, विश्वविद्यालय मार्ग र वडा कार्यालय परिसरमा निर्माण गरिएको पार्क
वडा नम्वर ५ श्रीखण्डपुर बजारसँगै बाल पार्क र खुटचा पार्क, श्रीखण्डपुर
वडा नम्वर ६ हकङपुखु पार्क, इटीपुखु पार्क, भैरव पार्क र विपी बाटिका
वडा नम्वर ७ सरस्वती पार्क, टुँडिखेल पार्क, ग्रिन बेल्ट पार्क र बगैचा पार्क
वडा नम्वर ८ सुर्याेदय पार्क, देवीस्थान पार्क, गुरुप्रसाद मैनालीको शालिक सहितको पार्क, पर्यटन पार्क प्रस्तावित, संविधान पार्क प्रस्तावित, धुलिखेल नगरपालिका र अष्ट्रेलियन सरकारको सहयोगमा संयुक्त पार्क प्रस्तावित
वडा नम्वर ९ पिपलबोट पार्क, पानी ट्याङ्ककी पार्क, काभ्रेभञ्ज्याङ्ग पार्क र बलभद्र कुँवरको शालिक सहितको पार्क
वडा नम्वर १० हनुमान पार्क र बुद्ध पार्क
वडा नम्वर ११ मदन भण्डारीको शालिक सहितको पार्क, राम्चे स्टोन पार्क, पन्नेचौरमा बालमैत्री पार्क र हनुमानथान पार्क
वडा नम्वर १२ शंखेश्वरी पार्क, एक्लेखेत पार्क, शान्ति बालपार्क र कालिदेवी पार्क
नगरस्तरीय पार्क
बलभद्र कुँवरको शालिक सहितको पार्क
मदन भण्डारीको शालिक सहितको पार्क
सरस्वती बजारमा रहेको सरस्वती पार्क
गुरुप्रसाद मैनालीको शालिक सहितको पार्क
देवीस्थान पार्क
विश्वविद्यालय मार्गको बुद्ध र कृष्णको पार्क
खुटचा पार्क
वडा नम्वर १० मा रहेको बुद्ध पार्क
(३२ वटा पार्क निर्माण सम्पन्न, चालु वर्षका लागि १५ वटा प्रस्तावित) यो समाचार आजको चेष्टा साप्ताहिक पत्रिकामा मोतिराम तिमल्सिनाले लेख्नु भएको छ ।
प्रकाशित मिति: १ असोज २०७७, बिहीवार १६:२४ बजे