काभ्रेमा थप २८ संक्रमित थपिए,धुलिखेल अस्पतालमा एक काेराेना सङ्क्रमितकाे मृत्यु

काभ्रे । धुलिखेल अस्पतालमा थप एक काेराेना सङ्क्रमितकाे मृत्यु भएको छ । धुलिखेल अस्पतालमा उपचाररत बनेपा नगरपालिका वडा न १३ का ४६ वर्षीय पुरुषकाे मृत्यु भएको स्वास्थ्य कार्यालयका प्रमुख डा. नरेन्द्रकुमार झाले जानकारी दिनुभयो । आजै बिहान काठमाडौँ सिनामंगलका ७७ बर्षीय पुरुषको धुलिखेल अस्पतालमा मृत्यु भएको थियो ।
यो मृत्युसँगै काभ्रेमा मृतकको सङ्ख्या १३ पुगेको छ । जसमा आठ जना काभ्रे जिल्लाकै छन् भने बाँकी पाँच जना जिल्ला बाहिरका छन् । जिल्लामा आइतबार मात्र २८ जना कोरोना सङक्रमित थपिएका छन् । योसँगै जिल्लामा सङक्रमितको सङ्ख्या ७२७ पुगेको छ । जसमा २७२ उपचाररत रहेका छन् भने ४४७ निको भएर घर फर्किएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
रोशी गाउँपालिकाको सेवा बन्द
कर्मचारीमा कोरोना सङक्रमण पुष्टि भएपछि रोशी गाउँपालिकाको सेवा अनिश्चितकालका लागि बन्द भएको छ । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङद्वारा जारी सूचनामा कर्मचारीमा कोभिड–१९ सङक्रमण देखिएकाले उक्त कर्मचारीको प्रत्यक्ष सम्पर्कमा आएका कर्मचारी तथा व्यक्तिकाे स्वाब सङ्कलन तथा प्ररीक्षण नतिजा नआएसम्मका लागि अत्यावश्यक सेवा र विद्युतीय माध्यमबाट हुनेबाहेक अन्य सेवा अर्काे सूचना नभएसम्मका लागि बन्द गरिएको उल्लेख छ । कार्यालयमा कार्यरत चार कर्मचारीमा कोरोना पुष्टि भएको रोशी गाउँपालिका स्वास्थ्य शाखाप्रमुख गंगालाल श्रेष्ठले जानकारी दिनुभयो ।
प्रकाशित मिति: १८ असोज २०७७, आइतवार १९:५४ बजे