देशभर लकडाउन हुन्न, निषेधाज्ञा हुनसक्छ

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहातको इन्सिडेन्ट कमाण्ड सिस्टमले देशभरि २५ हजारभन्दा बढी सक्रिय सङ्क्रमित नाघे लकडाउन गर्नुपर्ने सुझाबसहितको निस्कर्ष निकाल्यो । मन्त्रालयले कोभिड–१९ क्राइसिस मैनेजमेन्ट सेन्टर ‘सीसीएमसी’लाई उक्त सिफारिश गरेको थियो । दुई सातापछि असोज २१ गते सक्रिय सङ्क्रमितको संख्या २५ हजार नाघेको छ ।
सक्रिय सङ्क्रमितको संख्या २५ हजार नाघेको छ, मन्त्रालयको सिफारिश बमोजिम लकडाउन हुन्छ त ? प्रश्नको जवाबमा सरकार प्रवक्ता प्रदीप ज्ञवाली भन्नुहुन्छ, “देशभरि लकडाउन गर्ने अवस्था छैन्, हटस्पट भएको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेर कोभिड–१९ नियन्त्रणको प्रयास गरिनेछ ।” प्रवक्ता ज्ञवाली कोभिड–१९ क्राइसिस मैनेजमेन्ट सेन्टर(सीसीएम)का सदस्य हुनुहुन्छ ।
काठमाडौं उपत्यकाका तीन जिल्लामा हाल करिब १४ हजार सक्रिय सङ्क्रमित छन् । सरकारका प्रवक्ता समेत रहनुभएका परराष्ट्रमन्त्री ज्ञवालीले भने झैं काठमाडौं उपत्यका हटस्पट बनेको छ । प्रवक्ता ज्ञवालीले हटस्पट क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गर्न सकिने बताउनुभयो ।
जोखिम बढ्दो छ । उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा मात्रै सक्रिय सङ्क्रमित करिब १२ हजार छन् । जसले गर्दा आइसोलेशन शय्याको अभाव महसुस गर्न थालिएको छ । जिल्लागत् रुपमा काठमाडौं हाल सबैभन्दा बढी सङ्क्रमित पुष्टि भएको जिल्ला हो । बुधबार मात्रै एक हजार दुईसयभन्दा बढी सङ्क्रमित पहिचान गरिएका छन् ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले भने काठमाडौंमा समेत तात्काल लकडाउन गर्ने विषयमा छलफल नभएको बताउनुहुन्छ । तात्काल लकडाउन नहुने प्रष्ट्याउँदै उहाँले भन्नुभयो, “स्वास्थ्य मन्त्रालयले जारी गरेको निर्देशिका पालनामा लापरवाही हुँदा सङ्क्रमण बढेको छ, उक्त प्रोटोकल लागू गराउन प्रशासन गम्भीर भएर लाग्नेछ ।”
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समेत सामाजिक दूरीको पालना, मास्क अनिवार्य लगाउनुपर्ने र हात साबुन पानीले नियमित धुनुपर्ने तथा बाहिरबाट आउने सर्वसाधारणको संख्या बढ्दा उपत्यकामा सङ्क्रमण बढेको जनाएको छ । प्रजिअ दाहालले दैनिक एक हजारदेखि पन्ध्र सय सङ्क्रमित थपिँदा उपत्यकास्थित सरकारी कार्यालयका कर्मचारीहरु पनि धेरै मात्रामा सङ्क्रमित हुन थालेको जानकारी दिनुभयो ।
प्रजिअ दाहाल भन्नुहुन्छ, “उपत्यकाका प्रजिअहरु नियमित बसेका छौं, कर्मचारी सङ्क्रमित हुने क्रम बढेकोले सेवाप्रवाहको स्वरुपबारे निर्णय हुनसक्छ ।” उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू छलफल रहनुभएकाे र कार्यालय सञ्चालन र सेवाप्रवाहको स्वरुपबारे ठोस निर्णयमा पुग्ने अपेक्षा गरिएको छ । कर्मचारी नै सङ्क्रमित भएपछि सेवाग्राहीमा समेत जोखिम बढ्ने हुँदा स्वरुपबारे निर्णय गर्नुपर्ने अवस्था आएको प्रष्ट्याउनुभयो ।
कार्यालयमा भीडभाड संकुचन भए कोभिड–१९ को बढ्दो सङ्क्रमणलाई थोरै भए पनि नियन्त्रणमा राख्न सहज हुने उहाँले बताउनुभयो ।
काठमाडौं उपत्यकामा सङ्क्रमित बढिरहँदा आईसीयू, भेन्टिलेटर र आइसोलेशन शय्याको समेत अभाव देखिएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम भन्नुहुन्छ, “स्वास्थ्य मापदण्ड पालनामा अझै लापरवाही भइरहे स्वास्थ्य पूर्बाधारले थेग्न नसक्ने अवस्था आउन सक्छ ।”
मन्त्रालयका प्रवक्ता डा. गौतमको भनाईलाई प्रजिअ दाहालले समेत स्वीकार गर्नुहुँदै तत्कालै आइसोलेशन शय्या र आईसीयूको अभाव देखिन सुरु भइसकेको जानकारी दिनुभयो । उहाँले थुप्रै बिरामीले नै सम्पर्क गरेर आइसोलेशन र आईसीयूको अभावबारे गुनासो गरेको बताउनुभयो ।
नेपालमा हाल कोभिड–१९ का कुल सङ्क्रमितको संख्या ९४ हजार २५३ पुगेको छ । सक्रिय सङ्क्रमित २५ हजार सात छन् ।
प्रकाशित मिति: २२ असोज २०७७, बिहीवार १८:०८ बजे