२५ असोज २०८१, शुक्रवार

बनेपाका मेयरसहित काभ्रेमा थप ४१ कोरोना सङक्रमित थपिए

काभ्रे । बनेपा नगरपालिकाका नगर प्रमुख लक्ष्मीनरसिंह बादेसहित काभ्रेपलाञ्चोक जिल्लामा थप ४१ जनामा सङक्रमण पुष्टि भएको छ । बनेपा नगरपालिका स्वास्थ्य शाखाका प्रमुख सत्यश्वर मकै श्रेष्ठका अनुसार बनेपामा सोमबार थपिएका २८ जना मध्ये नगर प्रमुख बादे, वडा न ११ का वडा अध्यक्ष शिवकुमार थापासहित चार कर्मचारी र बाँकी सर्वसाधारण रहेका छन् । बनेपा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रेतीलाई गत शुक्रबार सङक्रमण पुष्टि भएपछि कन्ट्याक ट्रेसिङमा परेकाको स्वाब संकलन गरिएको थियो । मेयर बादे होम आइसोलेसनमा उपचाररत रहनुभएको स्वास्थ्य शाखाले जनाएको छ । स्वास्थ्य कार्यालयका प्रमुख नरेन्द्रकुमार झाले सोमबार बनेपा नगरपालिकाका १४ पुरुष र १४ महिलासहित २८ जना, मण्डनदेउपुर नगरपालिकाका तीन पुरुष र एक महिला सहित चार जना, पनौती नगरपालिकामा एक पुरुष, एक महिला, धुलिखेल नगरपालिकामा तीन पुरुष, दुई महिला, पाँचखाल नगरपालिकामा एक महिला र रोशी गाउँपालिकामा एक पुरुषमा सङक्रमण पुष्टि भएको जानकारी दिनुभयो । सोमबार थपिएका ४१ सहित जिल्लामा सङक्रमितको संख्या एक हजार २८४ पुगेको स्वास्थ्य कार्यालय काभ्रेले जानकारी दिएको छ । जिल्लामा सक्रिय सङक्रमित ५६९ रहेका छन । जसमा १५३ अस्पताल र ४१६ होम आइसोलेसनमा उपचाररत रहनुभएको छ । जिल्लामा निको भएर घर फर्किनेको संख्या ७०२ पुगेको छ । सोमबार १६ जना निको भएर घर फर्किएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

प्रकाशित मिति: ३ कात्तिक २०७७, सोमवार १९:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु