काभ्रे पोस्टका सम्पादक विष्णु चौलागाईंको निधन
काभ्रे । काभ्रे पोस्टका प्रकाशक तथा प्रधान सम्पादक विष्णु चौलागाईंको निधन भएको छ ।
५१ वर्षीय चौलागाईंको शुक्रबार बिहान ओम अस्पतालमा उपचारकै क्रममा निधन भएको हो । उनी गत असोज २६ गते कोरोनाबाट संक्रमित भएका थिए। कोरोना संक्रमणपछि चौलागाईंको फोक्सोमा समस्या देखिएको थियो ।
त्यसपछि उनी होम आइसोलेसन बसेका थिए। ज्वरो बढेपछि कात्तिक १ गते उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । ब्रोनक्राइटिस पीडित उनमा कोरोना संक्रमण पनि देखिएपछि स्वास्थ्य अवस्था बिग्रँदै गएको थियो ।
पुन पीसीआर परिक्षण गर्दा रिपोर्ट नेगेटिभ देखिएदेखिए पनि फोक्सोमा रहेको समस्याका कारण उनी अस्पतालमै उपचाररत थिए । जिल्लामा करिब ४ दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल अग्रज पत्रकारको मृत्युले काभ्रेली पत्रकारितामा एक अपूरणीय क्षति पुगेको छ ।
काभ्रे चौंरीदेउरालीमा जन्मिएका चौलागाईंका एक छोरा र एक छोरी छन् । यसैबिच, नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले चौलागाईंको निधनको खबरले स्तब्ध भएको उल्लेख गरेका छन् ।
प्रकाशित मिति: १४ कात्तिक २०७७, शुक्रवार १०:१२ बजे