काभ्रे थप ३२ जना संक्रमणमुक्त , २ संक्रमितको मृत्यु

काभ्रे । आज काभ्रे जिल्लामा ३२ जना संक्रमित संक्रमणमुक्त भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेको विवरणमा उल्लेख छ । अहिलेसम्म काभ्रेका १७ सय ६६ जना कोरोना संक्रमणमुक्त भएका छन् । जिल्लामा अहिले ४ सय ४८ जना सक्रिय कोरोना संक्रमित रहेको कार्यालयले जनाएको छ ।
काभ्रे जिल्लामा कोरोनाका कारण २ जना संक्रमितको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । कार्यालयका अनुसार मृत्यु हुनेमा पनौती नगरपालिकाका ८७ वर्षीय पुरुष रहेका छन् । उनको उपचारको क्रममा आज शिर मेमोरियल अस्पतालमा मृत्यु भएको कार्यालयका प्रमुख डा.नरेन्द्र कुमार झाले जानकारी दिए । मृतकमा कात्र्तिक २४ गते संक्रमण पुष्टि भएको कार्यालयको जानकारी छ ।
त्यस्तै बनेपा नगरपालिकाका ८४ वर्षीय पुरुषको पनि शिर मेमोरियल अस्पतालमा उपचारको क्रममा मंसिर २ गते मृत्यु डा. झाले जानकारी दिए । उनका अनुसार मृतकमा कात्र्तिक २७ गते संक्रमण पुष्टि भएको थियो । योसँगै काभ्रेमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३३ पुगेको छ ।
काभ्रे जिल्लामा आज २ जना नयाँ कोरोना संक्रमित थपिएको कार्यालयले जनाएको छ । आज थपिएका संक्रमितमध्ये धुलिखेल नगरपालिकाबाट १ जना पुरुष र १ जना महिला गरी २ जना नयाँ कोरोना संक्रमित थपिएको कार्यालयका प्रमुख डा.झाले जानकारी दिए ।
प्रकाशित मिति: ३ मंसिर २०७७, बुधवार २१:४५ बजे