शोधनान्तर बचत एक खर्ब नाघ्यो मूल्य वृद्धिदर घट्यो

काठमाडौँ । कोभिड सङ्क्रमणका कारण आयातमा भएको कमी तथा यसैबीच बढ्दो विदेशी सहायताले नेपालको शोधनान्तर अवस्था बलियो देखिएको छ ।
राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७७/७८ को असोजसम्मको देशको आर्थिक तथा वित्तीय स्थितिअनुसार शोधनान्तर एक खर्ब एक अर्ब रुपियाँले बचतमा छ । गत आव २०७६÷७७ को असोजसम्म शोधनान्तर १४ अर्ब ४३ करोड रुपियाँले बचतमा थियो । शोधनान्तर स्थितिले कुनै देशको अन्य देशसँगको मौद्रिक कारोबारलाई जनाउँछ ।
आयात घट्दा चालू खाता पनि बचतमा देखिएको छ । राष्ट्र बैङ्कका अनुसार असोजसम्म चालू खाता ३४ अर्ब ३६ करोडले बचतमा छ जब कि गत वर्षको असोजसम्म २२ अर्ब ४७ करोड रुपियाँले घाटामा थियो । यसबीचमा कुल वस्तु आयात १२.७ प्रतिशतले घटेर दुई खर्ब ९२ अर्ब पुगेको छ । निर्यात १४.३ प्रतिशतले बढेर ३१ अर्ब पाँच करोड रुपियाँ पुगेको तथ्याङ्कले देखाउँछ ।
कोभिडका कारण भ्रमण खर्चमा आएको कमीले सेवा आय १० अर्ब ५९ करोड रुपियाँले घाटामा गएको छ । गत आवको असोजसम्म १७ अर्ब ३३ करोड रुपियाँ भ्रमणबापत नेपालले आम्दानी गरेकामा चालू आवमा केवल एक अर्ब ४७ करोड रुपियाँ मात्र आम्दानी
भएको छ ।
आयात प्रभावित हुँदा विदेशी विनिमय सञ्चिति पनि बढेको छ । असारसम्म १४ खर्ब एक अर्ब रुपियाँ विदेशी विनिमय सञ्चित रहेकामा असोजसम्म १४ खर्ब ७० अर्ब रुपियाँ पुगेको छ । यो सञ्चितिले साढे १५ महिनाको वस्तु आयात धान्न सकिने अवस्था रहेको राष्ट्र बैङ्कले जनाएको छ ।
घट्यो मूल्य वृद्धिदर
राष्ट्र बैङ्कको तथ्याङ्कले उपभोक्ता स्तरको मूल्य वृद्धिदर गत आवको तुलनामा घटेको देखाएको छ । असोजसम्म वार्षिक बिन्दुगत उपभोक्ता मूल्य वृद्धिदर ३.७९ प्रतिशत रहेको तथ्याङ्क छ । गत असोजमा यो ६.२१ प्रतिशत थियो ।
यसबीचमा तरकारीमा २३.१० र दाल तथा गेडागुडी उपसमूहमा भने १३.८१ प्रतिशतले मूल्य वृद्धि रहेको छ । थोकमा भने मूल्य वृद्धि भएको देखिएको छ । असोजसम्म यस्तो दर ८.२६ प्रतिशत रहेको छ । गत असोजमा ७.२९ प्रतिशत थियो । भौगोलिक हिसाबले पहाडमा सबैभन्दा कम अर्थात् ३.०३ प्रतिशत मात्र मूल्य वृद्धि भएको देखिएको छ । त्यसपछि काठमाडौँ उपत्यकामा ३.३५, हिमालमा ४.३९ र तराईमा ४.४६ प्रतिशत मूल्य वृद्धि रहेको राष्ट्र बैङ्कले जनाएको छ । यो समाचार आजको गोरखापत्रमा प्रकाशित छ ।
प्रकाशित मिति: ११ मंसिर २०७७, बिहीवार १०:५० बजे