स्थानीय स्तरमा फुटबल खेलको विकास गर्न नेपाल नगरपालिका संघ र एन्फाबीच समझदारी पत्रमा हस्ताक्षर

नेपालको स्थानीय तहमा प्रभावकारी रुपले फुटबल खेलको विकास गर्ने उद्देश्यका साथ नेपाल नगरपालिका संघ र अखिल नेपाल फुटबल संघ (एन्फा) बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यालयमा भएको एक कार्यक्रममा स्थानीय तहमा प्रभावकारी रुपले फुटबल खेलको विकास गर्ने उद्देश्यका साथ नेपाल नगरपालिका संघका अध्यक्ष अशोक कुमार ब्याञ्जु श्रेष्ठ र अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष क्रमाछिरिङ शेर्पाले हस्ताक्षर गर्नुभयो ।
हस्ताक्षर पछी समझदारी पत्र आदान प्रदान पनि गरिएको थियो ।
समझदारी पत्र आदान प्रदान पछी कार्यक्रमलाई संबोधन गर्नुहुदै नेपाल नगरपालिका संघका अध्यक्ष एवम् धुलिखेल नगरपालिकाका प्रमुख अशोक कुमार ब्याञ्जुले नगरपालिका संघ र एन्फाबीच भएको समजदारी पछी स्थानीय तहहरुमा खेलकूदका कार्यक्रमहरु गर्न सहज हुने बताउदै खेलकूदको विकासका लागि स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले अझ बढि प्राथमिकता दिनुपर्ने बताउनुभएको थियो ।
धुलिखेल नगरपालिकाले पनि खेलकूदलाई प्राथमिकतामा राखेर कार्य गरिरहेको नगर प्रमुख ब्याञ्जुको बताउनुभयो ।
नेपालमा खेलकूदको विकास र विस्तारका लागि नगरपालिका संघले पहल गर्ने बताउदै नेपाल नगरपालिका संघका अध्यक्ष एवम् धुलिखेल नगरपालिकाका प्रमुख अशोक कुमार ब्याञ्जु श्रेष्ठले सबै स्थानीय तहहरुले खेलकूदलाई प्राथमिकता दिएको र अन्तर्राष्ट्रिस्तरमा पनि खेलकूदको विकासका लागि आफूले पहल गर्ने बताउनुभएको थियो ।
कार्यक्रममा नेपाल नगरपालिका संघका कोषाध्यक्ष एवम् दाङको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले तुलसीपुर उपमहानगरपालिकाले एक वडा एक खेल मैदान बनाउने नीति अनुसार कार्य गरिरहेको बताउदै खेलकूदको विकास र विस्तारका लागि सक्दो सहयोग गर्ने बताउनुभएको थियो ।
सो अवसरमा प्रमुख पाण्डेले तुलसीपुरमा खेलकूद प्रतिष्ठान निर्माणका लागि उपमहानगरपालिकाले १० बिघा जग्गा उपलब्ध गराउने प्रतिबद्धता पनि जनाउनुभएको थियो ।
कार्यक्रममा अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष क्रमाछिरिङ शेर्पाले खेलकूदको विकास र बिस्तारका लागि नगरपालिका संघ र एन्फाबीच भएको समझदारी ऐतिहासिक भएकोले यो समझदारी पछी खेलकूदको विकास र बिस्तारमा आगामी दिनमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुृभएको थियो ।
खेलकूद क्षेत्रको विकास र बिस्तारका लागि एन्फाले नेपालका २ सय ९३ वटै नगरपालिकाहरुसंग सहकार्य गरेर कार्य गर्ने एन्फा अध्यक्ष शेर्पाको भनाई थियो ।
कार्यक्रममा एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज बिक्रम नेम्बाङ र सदस्य उपेन्द्रमान सिंहले स्वास्थ्य मापदण्डको पूर्ण रुपमा पालना गर्दै खेलकूद प्रतियोगिताहरु आयोजना गरिने जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा धुलिखेल नगरपालिकाका वडा अध्यक्षहरु, नगर कार्यपालिका सदस्यहरु, नेपाल नगरपालिका संघका कर्मचारीहरु र एन्फाका पदाधिकारीहरु तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा विभिन्न खेलाडीहरुलाई पुरस्कृत पनि गरिएको थियो ।
प्रकाशित मिति: १२ मंसिर २०७७, शुक्रवार २०:४६ बजे