१२ वैशाख २०८३, शुक्रवार

संवैधानिक परिषद बैठक सकियो, निर्णय केही भएन

काठमाडौं । संवैधानिक परिषदको बैठक सकिएको छ । मंगलबार अपरान्ह बसेको बैठकमा संवैधानिक नियुक्तीका विषयमा छलफल भएपनि ठोस निर्णय नभएको बताइएको छ । बैठक अघि आजै सराकरको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७७ जारी गर्नुभएको थियो ।

राष्ट्रपतिबाट पहिलो संशोधन अध्यादेश जारी भएपछि बसेको साँझको परिषद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित तीन जनाको सहभागिता थियो । बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको सहभागिता थियो । प्रमुख प्रतिपक्षीदल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र सभामुख अग्नीप्रसाद सापकोटा अनुपस्थित रहनुभयो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाकाअनुसार परिषदको बैठक सम्पन्न भएपनि ठोस केही निर्णय भएको जानकारी प्राप्त नभएको बताउनुभयो । संवैधानिक नियुक्तीको विषयबारे भने बैठकमा छलफल भएको उहाँले बताउनुभयो ।

अध्यादेशमा नयाँ व्यवस्था
संवैधानिक परिषदमा प्रधानमन्त्रीसहित छ जना सदस्य रहने संवैधानिक व्यवस्था छ । तर आज जारी भएको पहिलो संशोधन अध्यादेशमा तत्काल बहाल रहेका बहुमत सदस्य उपस्थित भएमा गणपुरक संखया पुगेको मानिने नयाँ व्यवस्था गरिएको छ ।

अब प्रधानमन्त्रीसहित थप दुईजना सदस्य उपस्थित भएमा बैठकको गणपुरक संख्या पुग्नेभएको छ । यसअघि प्रधानमन्त्रीसहित थप चार सदस्य उपस्थित हुनुपर्ने व्यवस्था थियो । प्रधानमन्त्रीको अध्यक्षतामा प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रमुख प्रतिपक्षी दलका नेता र उपसभामुख सदस्य रहने संवैधानिक व्यवस्था छ ।

सभामुखको प्रष्टिकरण
सभामुख अग्नीप्रसाद सापकोटाले परिषद बैठकमा अनुपस्थित भएको विषयबारे प्रष्टीकरण दिनुभएको छ । आफ्नो प्रेस विज्ञ श्रीधर न्यौपानेमार्फत सचिवालयद्वारा जारी विज्ञप्तीमा भन्नुभएको छ, “जहाँसम्म आज (मंसिर ३० गते) को संवैधानिक परिषद् बैठकमा अनुपस्थित भएको विषय छ, यसमा सभामुखज्यूले बैठकको पूर्वतयारी, गृहकार्य, आपसी परामर्श र आवश्यक समन्वय अभावका सम्बन्धमा प्रधानमन्त्रीज्यूलाई जानकारी गराउनु भएको थियो । राज्य संचालनमा दीर्घकालनीन एवम् दुरगामी महत्व राख्ने निर्णयमा संवैधानिक परिषदका सदस्यहरुबीच पर्याप्त गृहकार्य र समन्वय हुनुपर्छ भन्ने उहाँको स्पष्ट मान्यता छ ।”

प्रकाशित मिति: ३० मंसिर २०७७, मंगलवार २१:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु