६ चैत २०८१, बुधवार

काभ्रेबाट थपिए नेकपामा दर्जन केन्द्रिय सदस्य

काभ्रे । पार्टी एकीकरण पछि पार्टीका कमिटीहरुले पूर्णतः नपाउँदै अन्ततः नेकपा फुटेको छ । फुटको औपचारिक घोषणा नभएपनि नेकपाको आधिकारिताका बारेमा बहस हुँदै गर्दा काभ्रेपलाञ्चोक जिल्लाबाट केन्द्रिय सदस्यमा दर्जन सदस्यहरु थपिएका छन् । केन्द्रिय सदस्य एवं काभ्रे जिल्ला इन्चार्ज गोकुल बास्कोटाले काभ्रे जिल्लामा रहेका अन्य पार्टीका नेता तथा कार्यकर्ताहरुलाई नेकपामा प्रवेश गराउनु भएको थियो । विप्लब सम्ुहका नेता कार्यकर्ता झण्डै १ सय जना एकै दिन नेकपामा प्रवेश गरेका थिए ।

केन्द्रिय सदस्य थपिनेहरुमा साविक नेकपा एमालेको तर्फबाट अध्यक्ष पदका उम्मेदवार एवं पनौती नगरपालिकाका प्रमुख भिम न्यौपाने, उपाध्यक्ष एवं धुलिखेल नगरपालिकाका प्रमुख, नेपाल नगरपालिका संघका अध्यक्ष अशोक ब्याञ्जु, पूर्व उपाध्यक्ष एवं संविधान सभा सदस्य रामहरी सुवेदी, सचिव नारायण पाण्डे, अनेमसंघकी केन्द्रिय नेता एवं तेजगंगा बहुमुखी क्याम्पसकी प्रमुख डा. अम्बुभवानी कार्की, कुमार थापा, कुमार खकुरेल रहेका छन् । त्यस्तै संघीय सांसद् नविना लामा, प्रदेश सभा सदस्य चन्द्र लामा, मजदुर फाँटबाट प्रतिनिधित्व गर्दै जिफन्टको केन्द्रिय उपाध्यक्ष रहनु भएका हाल जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसी रहेका छन् । पूर्व माओवादी केन्द्रबाट महिला अध्यक्ष रिता ढकाल र पाँचखालकी रुकमणी बराईली मगर रहनु भएको छ ।

मंगलबार सम्पन्न पार्टी केन्द्रिय कमिटीको पूर्ण बैठकले केन्द्रिय कमिटीलाई विस्तार गर्दै १ हजार १ सय ९९ जनाको कमिटी बनाउने निर्णय गरेको छ । विद्यान संशोधन गरे सँगै नेकपा अध्यक्ष केपी ओलीको अध्यक्षतामा बसेको बैठकले केन्द्रिय कमिटी विस्तार र प्रवक्ताको जिम्मेवारी हेरफेर गरेको हो । विस्तारित पार्टीको प्रवक्तामा मन्त्री प्रदिप ज्ञवाली रहनु भएको छ । अध्यक्ष ओलीको अध्यक्षतामा बसेको बैठकले कुनै नेता तथा कार्यकर्तालाई कारवाही गरेको छैन । २०७८ साल मंसिर २ गते महाधिबेशनको घोषणा गरी केन्द्रिय कमिटीलाई महाधिबेशन आयोजक कमिटी बनाएको छ । आयोजक कमिटीमा केहि सदस्य थप गर्न बाँकी छ ।

पार्टी एकीकरण भए लगत्तै जिल्लामा एकताको काम शुरु हुन सकेन । इन्चार्ज गोकुल बास्कोटाले पटक पटक जिल्ला कमिटीको विस्तार, बैठक र तल्ला कमिटीहरुको गठन गर्न जिल्ला नेतृत्वलाई दिएको निर्देशन कार्यान्वयन भएन । बरु पार्टीलाई कसरी हुन्छ गुट र ब्यक्तिको सिमिततामा राख्ने भन्ने योजनाका साथ एकता प्रकृयालाई विथोल्ने काम भयो । पार्टी कमिटी कृयाशिल नहुँदा तीन तहका सरकारले गरेका राम्रा कामको प्रचार त हुन सकेनन् नै गलत कामहरुलाई ब्रेक लगाउने काम पनि हुन सकेन । स्थानीय सरकारले गरेका कयौं कामहरुलाई कार्यकर्ता र जनताका बीचमा लैजान नसक्दा सरकारले काम नै नगरेको हो कि भन्ने भ्रम फिजाईएको थियो ।

अध्यक्ष ओलीको अध्यक्षतामा बसेको बैठकले बुधबार सातवटै प्रदेशमा कार्यक्रमको आयोजना गरेको थियो । सातवटै प्रदेशमा भएका भेला तथा बैठकहरुले प्रदेश कमिटीहरुको विस्तार गरेको छ । काभ्रेपलाञ्चोक जिल्लाबाट प्रदेश कमिटीमा यसअघि प्रतिनिधित्व गर्नेहरुलाई निरन्तरता दिदै केहि सदस्यहरु थप गरिएको छ । नेकपाकै अर्काे समुहको मंगलबार बसेको केन्द्रिय कमिटी बैठकले अध्यक्ष ओलीलाई कारवाही गर्ने निर्णय गरेको छ । यहि निर्णयका कारण पार्टी औपचारिक रुपमा फुटेको छ । निर्वाचन आयोगमा दल र निर्वाचन चिन्हको आधिकारिकताका बारेमा बहस शुरु भएको छ । सर्वाेच्च अदालतमा संसद् विघटनका बारेमा बहस शुरु भएको छ ।

पार्टी कार्यालय नियन्त्रणमा
साविक नेकपा एमालेले निर्माण गरेको पार्टी कार्यालय अध्यक्ष ओली समुहका नेता तथा कार्यकर्ताहरुले मंगलबार देखि नियन्त्रणमा लिएका छन् । जिल्ला कमिटी सदस्यहरु कञ्चन अधिकारी, कुमार तिमल्सिना, विपिन लामा, जेनिस लामा, विद्यार्थी नेताहरु उपेन्द्र शर्मा लगायतले मंगलबार कार्यालय नियन्त्रणमा लिदै ताला लगाएको हो ।

जिल्ला जिल्लामा कार्यक्रम
नेकपाले जिल्ला जिल्लामा कार्यक्रम शुरु गर्ने बताएको छ । आगामी निर्वाचन र पार्टी महाधिबेशनमा सँगसँगै लैजाने योजनाका साथ जिल्लाका सबै गाउँ तथा नगर कमिटी र वडा कमिटीहरुमा कार्यक्रम आयोजना गरिने भएको छ । इन्चार्ज गोकुल बास्कोटा, केन्द्रिय कमिटी सदस्यहरु, जिल्लामा बन्ने कमिटीले कार्यक्रमहरु गर्ने केन्द्रिय सदस्य अशोक ब्याञ्जुले जानकारी दिनुभयो । यो समाचार आजको चेष्टा साप्ताहिकमा प्रकाशित छ ।

प्रकाशित मिति: ९ पुस २०७७, बिहीवार २०:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु