राष्ट्रिय विभुती बलभद्रको शालिक सहितको पार्क धुलिखेलमा उत्घाटन

धुलिखेल । धुलिखेल नगरपालिकाले वडा नम्वर ९ देविस्थानमा नेपालका राष्ट्रिय विभूति बलभद्र कुँवरको शालिक सहितको पार्क निर्माण गरेको छ । काभ्रेपलाञ्चोक जिल्लाको साविक भमरकोटमा बलभद्र कुँवरको जन्म भएको ईतिहासमा उल्लेख छ । ‘काभ्रेपलाञ्चोक जिल्ला अथार्त नेपालको इतिहास राख्न सफल नेपालका राष्ट्रिय विभूति बलभद्र कुँवरको शालिक निर्माण गरी राष्ट्र निर्माणमा उहाँले पु¥याएको योगदानको स्मरण गरेका हौं’–नगर प्रमुख अशोक ब्याञ्जुले भन्नुभयो–‘नगरपालिकाको आर्थिक सहयोग, नेपाली सेना विष्णु दल गण र स्थानीय उपभोक्ता समितिको तर्फबाट जनश्रमदान गरी पार्क सहितको शालिक निर्माण गरेका हौं ।
यसले देश निर्माणमा योगदान पु-याउने ब्यक्तिहरुको योगदानको कदर गरेको छ ।’ धुलिखेल नगरपालिकाले पर्यटकिय नगरका रुपमा विकास गर्न पाँच वर्षमा ६५ वटा पार्क निर्माण गर्ने लक्ष्य सहित ३६ वटा पार्क निर्माण सम्पन्न गरिसकेको छ । ‘सामाजिक रुपान्तरण र एकता कायम गर्न धार्मिक, सांस्कृतिक र ऐतिहासिक क्षेत्रको मात्रै नभई ब्यक्तिहरुको पनि स्मरणका लागि शालिकहरु निर्माण गरिएको छ’–नगर प्रमुख ब्याञ्जुले भन्नुभयो–‘पूर्खाहरुले साहित्य, कला, संगित, विरता प्राप्त गरी मुलुक निर्माणमा पु¥याएको योगदानको स्मरण गरिने छ ।’
पुर्खाहरुलाई सम्झने र भावि पुस्तालाई हौसला प्रदान गर्ने गरी नगरपालिकाले कार्य गरिरहेको नगर प्रमुख ब्याञ्जुले बताउनु भयो । सोहि स्थानमा निर्माण भएको शालिक सहितको पार्कले आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आर्कषण गरेको छ । देविस्थानमा पृथ्वीनारायण शाहको शालिक सहितको पार्क निर्माण भईरहेको छ ।
२० लाख रुपैया नगरपालिकाले विनियोजन गरेको पार्कमा उपभोक्ता र नेपाली सेना विष्णु दल गणको जनश्रमदान रहेको उपभोक्ता समितिका अध्यक्ष गोकर्ण चौलागाईले बताउनु भयो । ७ लाख रुपैया ढलौटको मुर्तिलाई खर्च भएको अध्यक्ष चौलागाईले बताउनु भयो ।
उपभोक्ता समितिमा उपाध्यक्ष सहदेव रानाभाट, कोषाध्यक्ष उमेश न्यौपाने, सचिव रेनुका हमाल रहनु भएको थियो । शालिक अनावरण कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसी, धुलिखेल नगरपालिका उपप्रमुख विमला शर्मा, प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, नगरपालिका प्रमुख प्रशासकिय अधिकृत पुरुषोतम सुवेदी, वडा अध्यक्ष निराजन जंगम लगायतले पार्क निर्माण र पर्यटकिय क्षेत्रको विकासका साथै इतिहास रच्ने ब्यक्तिको सम्मान भएको बताउनु भएको थियो ।
प्रकाशित मिति: १५ पुस २०७७, बुधवार १८:१९ बजे