ओलीलाई समर्थन गर्दै काभ्रेबाट विप्लब समूहका नेता हेमक नेकपा प्रवेश

काभ्रे । ओलीलाई समर्थन गर्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका केन्द्रीय नेता चुडामणी गौतम (हेमक) केपी ओली पक्षधर नेकपामा प्रवेश गरेका छन् । शनिवार काभ्रेको बनेपामा आयोजित ओली पक्षीय नेकपाको जिल्ला कमिटी बैठकमार्फत उनले ओलीलाई समर्थन गरेका हुन् ।
विप्लव समूहका नेता धमेन्द्र वास्तोलाको पक्राउविरुद्ध नेपाल बन्द आयोजना भएकै दिन सो समूहका केन्द्रीय सदस्य गौतमले आफू केपी ओलीको एजेण्डामा मिसिएको घोषणा गरे । उनले अोली पक्षीय नेकपाको जिल्ला कमिटी बैठकलाई सम्बोधन गर्दै राष्ट्रियताको सन्दर्भमा ओलीको अडानलाई आफूले निशर्त समर्थन गरेको बताए ।
१० वर्षे माओवादी जनयुद्धकालमा काभ्रे, रामेछाप लगायतका जिल्लामा नेतृत्व गरेका गौतम शान्ति काभ्रेको कोशीपारी क्षेत्रका स्थापित नेता हुन् । उनी पार्टी विभाजनपछि विप्लव नेतृत्वको नेकपामा थिए ।
भूमिगत रहदै आएका उनी ओली नेतृत्वको नेकपामा प्रवेश गरेपछि प्रहरीले पक्राउ गरेन । बैठकलाई सम्बोधन गर्दै नेकपा काभ्रे जिल्ला इन्चार्ज गोकुल बास्कोटाले केपी ओलीको विचारमा सबै एकीकृत हुने बताए ।
उनले विगतको माओवादी जनयुद्धको लिगेसी प्रचण्डले छाडिसकेको भन्दै त्यसको लिगेसीका नेता कार्यकर्ताको संरक्षण पनि केन्द्रमा ओलीले र जिल्लामा आफूले गर्ने बताए ।
जिल्ला अध्यक्ष अशोक ब्यान्जुको अध्यक्षतामा बसेको बैठकले अब जिल्लाका सबै वडा तहसम्म संगठन विस्तार तथा पुनर्गठन गर्ने निर्णय गरेको छ ।
प्रकाशित मिति: १० माघ २०७७, शनिवार १७:०० बजे