१२ वैशाख २०८३, शुक्रवार

चिसो अत्याधिक बढेपछि नेपालगञ्जमा तीन दिन विद्यालय बन्द

नेपालगञ्ज । शीतलहर र हुस्सुका कारण चिसो अत्यधिक बढेपछि नेपालगञ्जका सबै विद्यालय तीन दिनका लागि बन्द गरिएको छ । शीतलहर र हुस्सुले गर्दा चिसो धेरै बढेपछि बालबालिकालाई प्रभाव पर्ने हुँदा सोमवारदेखि बुधवारसम्म तीन दिनका लागि विद्यालय बन्द गर्ने नेपालगञ्ज उपमहानगरको शिक्षा शाखाले निर्णय गरेको छ ।

नेपालगञ्ज उपमहानगरको शिक्षा शाखाका प्रमुख गोरखबहादुर थापाले सो बारेको पत्र उपमहानगरपालिकाका सबै निजी, सरकारी विद्यालय र मदरसाहरुलाई पठाइसकेको बताउनुभयो । उहाँले बुधवारसम्म पनि मौसममा सुधार नआए शुक्रवारसम्म विद्यालय बन्द गर्न विद्यालयहरुलाई निर्देशन दिइएको जनाउनुभयो ।

जल तथा मौसम विज्ञान विभागको फिल्ड कार्यालय राँझाका अनुसार गत केहीदिनदेखि निरन्तर नेपालगञ्जको तापक्रम घट्दै गएको छ । आइतवार नेपालगञ्जको तापक्रम अधिकतम १७ दशमलव ७ सेल्सियस र न्यूनतम ५ सेल्सियस डिग्रीसम्म पुगेको सो कार्यालयले जनाएको छ ।

चिसोका कारण जनजीवन अत्याधिक प्रभावित बनेको छ । शित लहर चलेर चिसो बढेपछि बजारमा मानिसको आवागमन घटेको हो । शितलहर र चिसोबाट सबैभन्दा बढी रिक्सा चालक, ठेला चालक र मजदुरहरु प्रभावित भएका छन् । बालबालिका र बृद्धबृद्धाहरुलाई पनि यसले प्रभाव पारेको छ ।
शीतलहर, कुहिरो र भिजीविलिटी कम भएका कारण केहीदिन यता नेपालगञ्जबाट हुने अधिकांश हवाई उडान प्रभावित भएका छन् ।

पहाडी जिल्लाहरु हुम्ला, बाजुरा, मुगुको रारा, डोल्पा र जुम्लाका लागि विहान हुने हवाई उडानमध्ये अधिकांश रद्द हुँदै आएको र केहीमा ढिलाइ हुने गरेको नागरिक उड्डयन कार्यालय नेपालगञ्जले जनाएको छ । सोही प्रकारले संघीय राजधानी काठमाण्डौका लागि बिहान र बेलुका हुने हवाई उडान पनि प्रभावित भैरहेको सो कार्यालयका प्रमुख प्रेमनाथ ठाकुरले बताउनुभयो । गोरखापत्र अनलाइनबाट

प्रकाशित मिति: १८ माघ २०७७, आइतवार १८:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु