संसद विघटन अग्रगामी कदम होः गृहमन्त्री थापा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले मुलुकलाई पुनः अस्थिरतातिर धकेल्ने षडयन्त्र भएपछि मुलुकको अग्रगमनका लागि प्रतिनिधिसभा विघटन गरेर नयाँ जनादेशमा जाने निर्णय सरकारले गरेको बताउनुभएको छ ।
नेकपाद्वारा शनिबार विराटनगरमा आयोजित बृहद् कार्यकर्ता भेलामा सम्बोधन गर्नुहुँदै गृहमन्त्री थापाले त्यस्तो बताउनुभयो । केही तत्वबाट भइरहेको बताउनुभयो । सरकारले चालेको कदम ऐतिहासिक र अग्रगामी कदम भएको उहाँले दावी गर्नुभयो । संविधानको स्पिरिटअनुसार नै प्रधानमन्त्रीले कदम चाल्नुभएको उहाँले प्रष्ट पार्नुभयो । “देशमा फेरि अस्थिरता उत्पन्न गर्न खोजिएको छ, कुनै बाह्य शक्तिबाट होइन, आन्तरिक शक्तिबाट भइरहेको छ” नेता बादलले थप्नुभयो, “अवसरवादीहरु, गुटबादी तथा पदलोलुपहरुले यो स्थिति जन्माएका हुन् ।” यो असमान्य परिस्थितिभित्र बाह्य शक्तिले पनि खेल्न खोजेको उहाँले चर्चा गर्नुभयो । प्रचण्ड–माधव पक्षको गोयबल्स शैली सफल नहुने उहाँले बताउनुभयो ।
नेपाललाई अस्थिरतामा धकेलेर देशको विकास अवरुद्ध गर्ने प्रयास ती तत्वहरुको रहेको चर्चा गर्नुहुँदै गृहमन्त्री थापाले भन्नुभयो, “अहिलेको राजनीतिक अवस्थाले नेपाली जनता आक्रोशित बनेका छन्, जनताको उपस्थितिले पनि त्यो कुरा पुष्टि गर्छ ।” पार्टीभित्र शुद्धिकरणको अभियान चलिरहेको बताउनुहुँदै नेता थापाले जनताकोबीचमा गएर अस्थिरता स्थायित्वमा बदल्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
उत्पन्न समस्यालाई लोकतान्त्रिक विधिबाट जनतालाई साथ लिएर समाधान गर्ने चर्चा गर्नुहुँदै नेता बादलले भन्नुभयो, “अवसरवादीले फुट ल्याउन सफल भएका छन्, अव जनताको बीचमा गएर फेरि कम्युनिष्ट आन्दोलनलाई एक पार्छौं ।” पार्टीलाई सुदृढ गर्ने अभियान सफलतापूर्वक अगाडि बढिरहेको उहाँले प्रष्ट पार्नुभयो । सरकारले लिएको कदम प्रतिगामी हो भन्ने भ्रम फैलाउने काम प्रचण्ड–माधव पक्षले गरिरहेको बताउँदै उहाँले सरकारले लिएको कदम ‘अग्रगामी कदम हो, ऐतिहासिक कदम हो’ भन्नुभयो । निर्मला पन्तको हत्यारा कानुनको पकडमा आउने बताउनुहुँदै गृहमन्त्री थापाले सुरक्षाकर्मी हत्याराको नजिक पुगिसकेको चर्चा गर्नुभयो ।
बैतडीकि किशोरी भागरथी भट्टको हत्यारा प्रहरी हिरासतमा आइसकेको बताउनुहुँदै गृहमन्त्री रावलले जुनसुकै अपराध कार्य गर्नेलाई कानुनअनुसार कडा दण्ड दिइने प्रतिवद्धता व्यक्त गर्नुभयो । वैशाख १७ र २७ गते हुने निर्वाचनमा भाग लिन प्रचण्ड–माधव पक्षलाई आग्रह गर्नुहुँदै गृहमन्त्री थापा बादलले देश निर्वाचनमा होमिइसकेको बताउनुभयो ।
प्रचण्ड–माधव पक्ष पनि भित्रभित्रै निर्वाचनको तयारीमा लागेको बताउनुहुँदै गृहमन्त्री थापाले भन्नुभयो, “संसदको पुनस्र्थापना गर्ने हो भने किन चाहियो उनीहरुलाई सूर्य चिन्ह ? चुनावमा जाने तयारी गरेकै कारण चुनाव चिन्हको दावी गरिरहेका छन् ।” अदालतले गर्ने फैसला आफूहरुलाई मान्य हुने र अदालतले निर्वाचनकै पक्षमा फैसला दिने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
देशको स्वाधिनता र स्थायित्वको लागि नयाँ अभियान शुरु भइसकेको बताउनुहुँदै नेता थापाले आगामी निर्वाचनबाट सबै अवसरवादी र प्रतिगामी तत्वलाई परास्त गर्न आवश्यक रहेको बताउनुभयो । पूर्व सभामुख तथा नेकपाका नेता सुवासचन्द्र नेम्वाङले दुई तिहाई बहुमतको सरकारले पेश गरेको विधेयक संसदबाट पारित हुन नसक्नु विडम्बनापूर्ण थियो ।
सरकारले काम गर्न खोज्दाखोज्दै पार्टी भित्रको असहयोगले ‘देखिने काम’ हुन नसकेको बताउनुभयो । संसद विघटनबारेको सर्वोच्चमा रहेको मुद्दा १५ गतेभित्र छिनोफानो लाग्ने उहाँले बताउनुभयो । सरकार प्रतिगमनमा गयो भन्ने बाहिर टिप्पणी भइरहँदा उहाँले भन्नुभयो, “प्रतिगमनको छेउछेउ पनि होइन, अग्रगमनका लागि हो, निर्वाचनबाट नयाँ प्रतिनिधिसभा गठन हुनेछ ।” यो भ्रम मात्र हो, कुनै आधार छैन भन्नुहुँदै नेता नेम्वाङ्ले प्रधानमन्त्रीलाई काम गर्न नदिंदा नयाँ बाटो रोज्नुभएको चर्चा गर्नुभयो । जनताबीच जानु प्रतिगमन नभएको उहाँले प्रष्ट पार्नुभयो ।
पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले २०६९ जेठ १४ गते पहिलो संविधानसभा विघटन गरेको स्मरण गर्नुहुँदै सभामुख नेम्वाङले भन्नुभयो, “त्यो घटना र अहिलेको यो घटनामा के अन्तर छ ?” कुनै दलसँग छलफल नगरी त्यतिबेला संविधानसभा विघटन गरिएको थियो उहाँले भन्नुभयो । “अहिले त मुलुकमा संविधान छ, राष्ट्रपति हुनुहुन्छ, सरकारका अन्य अङ्ग चलायमान छन्, कसरी प्रतिगमन भयो ?” उहाँले जिज्ञासा गर्नुभयो ।
प्रकाशित मिति: ८ फागुन २०७७, शनिवार २०:११ बजे