१५ वैशाख २०८३, सोमवार

नेकपा एमालेद्वारा सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पनि ६ महिना निलम्बन

काठमाडौं । नेकपा एमालेले नेताद्वय सुरेन्द्र पाण्डे र घनश्याम भुषाललाई पनि ६ महिनाको लागि पार्टीबाट निलम्बन गरेको छ । नेताद्वयले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै कारबाहीको निर्णय पार्टीले लिएको हो ।

एमालेको केन्द्रीय समितिले गत चैत ८ गते चार नेतामाथि स्पष्टीकरण सोधेको थियो । पहिलोपटक सोधिएको स्पष्टीकरणमा पाण्डे र भुषालले जवाफ दिएका थिएनन् । फेरि उनीहरूमाथि १६ गते दोस्रोपटक स्पष्टीकरण सोधिएको थियो । त्यसको जवाफ उनीहरूले १७ गते दिएका थिए । तर, स्पष्टीकरण चित्तबुझ्दो नभएको र सुध्रिने लक्षण नदेखिएको एमालेले ठहर गरेको छ ।

अहिलेकै गतिविधि जारी रहेको खण्डमा थप कडा कारवाही हुन सक्ने अध्यक्ष केपी शर्मा ओलीले जनाएका छन् । नेताद्वयलाई सच्चिनका लागि यो अन्तिम मौका भएको ओलीद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।

‘एकैपटक कडा कारवाही गर्नुभन्दा हाललाई पार्टीको दशौं महाधिवेशन आयोजक कमिटी सदस्य र पार्टीका अन्य सबै जिम्मेवारीहरु (प्रतिनिधि सभा सदस्यताबाहेक) तथा पार्टी सदस्यबाटै हाललाई ६ महिनाको लागि निलम्बन गरिएको छ,’ पत्रमा भनिएको छ ।

ओलीले यसअघि पार्टीका शिर्ष नेता माधवकुमार नेपाल र पूर्व उपाध्यक्ष भिम रावललाई पनि कारवाही गरिसकेका छन् । उनीहरुलाई पनि ६ महिनाका लागि निलम्बन गरिएको छ।

प्रकाशित मिति: १९ चैत २०७७, बिहीवार १३:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु