काभ्रे जिल्लामा १ सय ५८ जनामा संक्रमण पुष्टि, १६ जना संक्रमणमुक्त, ४ संक्रमितको मृत्यु

काभ्रे । काभ्रेमा केही दिनदेखि कोरोना संक्रमितको संख्या तिब्र रुपमा बढि रहेको छ । काभ्रेमा २४ घण्टामा १ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । कार्यालयका अनुसार उक्त संख्या हालसम्मकै उच्च रहेको छ ।
काभ्रेमा थपिएका संक्रमितमध्ये बनेपा नगरपालिकाबाट ३९ जना महिला र ४६ जना पुरुष, धुलिखेल नगरपालिकाबाट ९ जना महिला र १० जना पुरुष, पनौती नगरपालिकाबाट ७ जना महिला र ८ जना पुरुष, पाँचखाल नगरपालिकाबाट ७ जना महिला र ६ जना पुरुष, भुम्लु गाउँपालिकाबाट १ जना पुरुष, मण्डनदेउपुर नगरपालिकाबाट ४ जना महिला र १ जना पुरुष, नमोबुद्ध नगरपालिकाबाट २ जना महिला र २ जना पुरुष, रोशी गाउँपालिकाबाट २ जना महिला र ५ जना पुरुष, चौरीदेउराली गाउँपालिकाबाट ३ जना पुरुष, बेथानचोक गाउँपालिकाबाट ४ जना पुरुष र तेमाल गाउँपालिकाबाट २ जना पुरुष रहेको कार्यालयका प्रमुख डा.नरेन्द्र कुमार झाले जानकारी दिए ।
काभ्रेमा हालसम्म संक्रमित ४ हजार २ सय २७ पुगेको छ । काभ्रेमा अहिले ७ सय ६८ जना सक्रिय कोरोना संक्रमित रहेको कार्यालयको जानकारी छ । जसमध्ये ७ सय ४३ जना होम आईसोलेसनमा र २५ जना अस्पताल आईसोलेसनमा उपचाररत छन् । जिल्लामा आज १६ जना संक्रमितको उपचारपछि संक्रमणमुक्त भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।
त्यस्तै काभ्रेमा आज कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । कार्यालयका अनुसार कोरोनाबाट मृत्यु हुनेमा २ जना संक्रमित काभ्रे जिल्लाका र २ जना अन्य जिल्लाका संक्रमित रहेका छन् । धुलिखेल नगरपालिका वडा न. ७ का ७१ वर्षीय महिलाको कोरोना संक्रमणबाट उपचारको क्रममा आज धुलिखेल अस्पतालमा मृत्यु भएको कार्यालयका प्रमुख डा. झाले बताए । उनका अनुसार मृतकमा बैशाख २० गते संक्रमण पुष्टि भएको थियो । योसँगै काभ्रेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।
त्यस्तै कोरोना संक्रमणबाट बनेपा नगरपालिका वडा नं १४ का ४२ वर्षीय पुरुषको उपचारको क्रममा धुलिखेल अस्पतालमा आज मृत्यु भएको कार्यालयको जानकारी छ । कार्यालयका अनुसार मृतकमा आज संक्रमण पुष्टि भएको थियो । त्यस्तै धनगढीका ६० वर्षीय पुरुष र भक्तपुर–ठिमीकी २६ वर्षीय महिलाको उपचारको क्रममा आज धुलिखेल अस्पतालमा मृत्यु भएको कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: २२ वैशाख २०७८, बुधवार १९:५० बजे