धुलिखेल नगरपालिकामा निशुल्क उच्च शिक्षा(स्नातक) कार्यक्रम शुरु
धुलिखेल नगरपालिकाको शिक्षामा समाजवाद उन्मुख कार्यक्रम सुरूवात
धुलिखेल । धुलिखेल नगरपालिकाले आर्थिक वर्ष २०७७/८८ को निति तथा कार्यक्रम अन्तर्गत धुलिखेल नगरपालिका क्षेत्रको विद्यार्थीहरुलाई निशुल्क उच्च शिक्षा प्रदान गर्ने योजना कार्यान्वयन गरेको छ ।
धुलिखेल नगरपालिकाले शिक्षामा समाजवाद उन्मुख कार्यक्रम सुरूवात गरी कार्यान्वयन गरेको छ । धुलिखेल नगरपालिकाले अघिल्लो आर्थिक वर्ष देखि निःशुल्क उच्च शिक्षा कार्यक्रमको सुरुवात गरेको हो ।
उच्च शिक्षा निशुल्क प्रदान गर्ने योजना अनुसार आज धुलिखेल नगरपालिकाले नगर क्षेत्रमा रहेको धुलिखेल क्याम्पस र सञ्जीवनी क्याम्पससँग सम्झौता गरेको नगरप्रमुख अशोक कुमार ब्याञ्जु श्रेष्ठले जानकारी दिनुभयो ।
धुलिखेल नगरपालिकाको दुई वटा क्याम्पसमा स्नातक तह पढ्ने धुलिखेल नगरपालिका भित्रका कुनै पनि बिद्यार्थीले शुल्क तिर्नुपर्ने छैन् । ‘धुलिखेल नगरपालिकाको ‘उच्च शिक्षा छात्रवृत्ति कार्यक्रम’ अन्तर्गत दुईवटा क्याम्पससँग सम्झौता गरिएको छ, यी दुई वटा क्याम्पसमा पढ्ने धुलिखेल नगरपालिकामा स्थायी बसोबास गर्ने जो कोहिले पनि शुल्क तिर्नु पर्दैन, नगरप्रमुख ब्याञ्जुले भन्नुभयो ।’
धुलिखेल नगरपालिकाको ‘उच्च शिक्षा छात्रवृत्ति कार्यक्रम अन्तर्गत धुलिखेल नगरपालिका भन्दा बाहिरबाट आएर नगर क्षेत्रमा रहेको धुलिखेल क्याम्पस र सञ्जीवनी क्याम्पसमा पढ्ने विद्यार्थीले ५० प्रतिशत छुट पाउँने छन् ।
धुलिखेल नगरपालिकाले ‘निःशुल्क उच्च शिक्षा पढ्न धुलिखेल जाउ’ भन्ने नारा सहित यो कार्यक्रमको सुरुवात गरेका छौँ, नगरबासीलाई सतप्रतिशत निःशुल्क र बाहिरबाट आएर पढ्ने विद्यार्थीले कुल पढाई खर्चको ५० प्रतिशत मात्रै तिर्नु पर्ने ब्यवस्था मिलाएका छौं, नगरप्रमुख अशोक ब्याञ्जुले भन्नुभयो ।’
नगरप्रमुख अशोक ब्याञ्जुले ‘उच्च शिक्षा छात्रवृत्ति कार्यक्रम अन्तर्गत धुलिखेल क्याम्पस र सञ्जीवनी क्याम्पसमा उच्च शिक्षा (स्नातक) अध्ययनगर्ने बिद्यार्थीका लागि ८/८ लाख छात्रवृत्ति रकम आज हस्तान्तरण गर्नुभएको छ । उक्त रकम यहि बर्ष भर्ना भएका विद्यार्थीले पनि पाउँनेछन् ।
प्रकाशित मिति: ३१ जेठ २०७८, सोमवार २१:५९ बजे











