२० वैशाख २०८३, शनिवार

मर्स्यांदी नदीमा पानीको बहाव घटेन, नदी क्षेत्र उच्च जोखिममा

लमजुङ. । मर्स्यांदी नदीमा पानीको बहाव नघट्दा जोखिम बढेको छ । हिमाली जिल्ला मनाङको चामे क्षेत्रमा मस्र्याङदी नदीमा पानीको बहाव नघट्दा जोखिम बढ्दै गएको स्थानीयले बताएका छन् । एकसातादेखि पानीको सतह माथिसम्म आएको र यसले झन् जोखिम बढाएको चामे गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर घलेले बताउनुभयो । उहाँका अनुसार जेठ ३१ गते सोमबार साँझदेखि परेको भीषण बर्षाका कारण नदीमा बाढी आएपछि नदीको बहाव बढ्दो अवस्थामा छ । शनिबार हुम्डेमा आधा घण्टा थुनिएपछि पानीको सतह झन् बढेको उहाँले बताउनुभयो । ‘पानी परिहेको छ । बाढी पसेदेखि पानीको सतह घटेको छैन । घट्छ की भन्यो घट्दैन । माथिल्लो मनाङ जाने बेलिब्रिज भन्दा माथिबाट पानी बगेको छ’ उहाँले भन्नुभयो, ‘पानी यसरी नै बढ्दै जाँदा झन् जोखिम बढ्ने देखियो । बाढीबाट विस्थापित भएका स्थानीय झन् त्रसित भएका छन् ।’

चामेका पाल्साङ गुरुङका अनुसार पानीको सतह नघट्दा चिन्ता थपिएको छ । चामेबजार बाढीले उच्च जोखिममा पारेपछि कारागार कार्यालय मनाङको नवनिर्मित भवनमा बस्दै आउनुभएका उहाँले सतह देख्दा डर लागेको बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेका अनुसार मर्स्यांदी नदीको पुल माथिबाट पानी बगिरहेको छ । पानीको सतह घटेको छैन । एकसाताको अवधिमा पनि पानीको सतह नघट्दा जोखिम थपिएको बताउनुभयो । उहाँले भन्नुभयो–‘मर्स्यांदीमा पानीको सतह बढ्दै गएको छ । घटेको छैन । बेलिब्रिजमाथिबाटै बग्न थालेको छ । आइतबारबाट त लेदोसहितको पानी आएको छ । यसले खतरा गर्छ की भन्ने लागेको छ ।’ चामे क्षेत्रमा शनिबार विहानदेखि नदी थुनिएपछि नेपाल प्रहरी, शसस्त्र प्रहरीले खुलाउने प्रयास गरिरहेका छन् । नदीले माथिल्लो क्षेत्रबाट ढुंगा, मुढा ल्याउँदा मर्स्यांदी थुनिएको हो । नदी खुलाउन प्रयास गरेपनि पानीको सहत बढ्दै जाँदा नसकिएको र उच्च जोखिममा परेको लामिछानेले बताउनुभयो ।

प्रशासनले मर्स्यांदी नदीमा पानीको बहाव नघट्दा जोखिम बढेकाले नदी क्षेत्रको नागरिकलाई सतर्क रहन भनेको छ ।
यस्तै, जिल्ला प्रशासन कार्यालय मनाङले बाढीपहिरोबाट भएको क्षतिको विवरण एक महिनाभित्र बुझाउन निर्देशन दिएको छ । बाढीका कारण मनाङका विभिन्न ठाउँमा क्षति पुगेको र क्षतिको एकिन विवरण नआएकाले ३० दिनभित्र विवरण संकलन प्रशासनमा बुझाउन भनिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति मनाङका संयोजक एवं प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेका अनुसार आइतबार बसेको समितिले बैठकले उक्त निर्णय गरेको हो । वडा तथा स्थानीय तहमा भएका स्थानीय विपद् व्यवस्थापन समितिलाई आइतबारबाट ३० दिनभित्र बाढीबाट भएका क्षतिको एकिन तथ्यांक संकलन गरि बुझाउन भनिएको छ । क्षतिको वास्तविक विवरण आएपछि राहतको कार्यक्रम ल्याइने बताउनुभयो । यस्तै समितिले घर पूर्ण क्षति भएकाको पहिचान गर्ने र अनुदानको व्यवस्था गर्ने निर्णय गरेको छ ।

जसको एउटा मात्रै घर र घर पूरै बगाएको खण्डमा सरकारले ५ लाख रुपियाँ अनुदान किस्ताबन्दीमा दिने भएकाले सोही अनुसार लागु गरिने प्रजिअ लामिछानेले बताउनुभयो । सडक, विद्युत, सिंचाई, खानेपानीलगायतको क्षेत्रमा भएको क्षतिको विवरण संकलन गरी सम्बन्धित निकायमा पठाउने बताउनुभयो । नासों गाउँपालिकाको कार्यालय भवन बाढीले बगाएकाले कार्यालय सञ्चालनका लागि आवश्यक व्यवस्था गर्न सरकारलाई जानकारीसहित पत्र पठाउने निर्णय भएको छ ।
प्रारम्भिक तथ्यांक अनुसार मनाङमा बाढीका कारण ५३ घर पूर्ण क्षति भएको छ । करिव २०० घर उच्च जोखिममा रहेको छ ।

प्रकाशित मिति: ६ असार २०७८, आइतवार २०:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु