३ चैत २०८१, सोमवार

‘ऊर्जा क्षेत्रमा राष्ट्रिय आत्मविश्वास बढेको छ’

काठमाडौँ । बहुप्रतीक्षित राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले विद्युत् उत्पादन सुरु गरेको छ । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रम निवास बालुवाटारबाटै भर्चुअल रूपमा टर्वाइनको ‘स्विच अन’ गरेर उद्घाटन गर्नुभएको हो । कुल ४५६ मेगावाट क्षमताको सो आयोजनाको सोमबार पहिलो टर्वाइनबाट ७६ मेगावाट विद्युत् उत्पादन थालिएको हो । यो नेपालको हालसम्मकै सबैभन्दा ठूलो जलविद्युत् आयोजना हो । आयोजनाको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवको आयोजना सम्पन्न भएपछि भविष्यमा स्वदेशी पँुजी र श्रमबाटै ठूला आयोजना बनाउन सकिन्छ भन्ने राष्ट्रिय आत्मविश्वास बढाएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “विविध कठिनाइले आयोजना पूर्वअनुमानित लागत र पूर्वनिर्धारित समयमा बनाउन सकिएन तर हामी आफ्नै बलबुताले ठूला आयोजना बनाउन सक्छौँ भन्ने राष्ट्रिय आत्मविश्वास बढेको छ ।” माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको सफलतासँगै नेपाली प्राविधिक तथा अन्य जनशक्तिले पनि ज्ञान र अनुभव कमाएको धारणा व्यक्त गर्नुहुँदै उहाँले भविष्यमा आयोजना बनाउँदा विदेशी परामर्शदाता तथा प्राविधिक आवश्यक नपर्ने र देशभित्रकै जनशक्तिले यस्ता काम गर्न सक्ने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले विद्युत् उत्पादन बढाएर सर्वसाधारण तथा उद्योग व्यवसायलाई सस्तोमा बिजुली दिने र विदेशमा उचित मूल्यमा बेच्ने व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । बिजुली सस्तोमा उपलब्ध हुँदा अर्थतन्त्रमा बहुआयामिक सकारात्मक प्रभाव पर्ने भएकाले देशको उद्योग, कृषि, पर्यटनजस्ता क्षेत्रलाई सस्तोमा बिजुली दिनुपर्ने उहाँले बताउनुभयो ।
निर्माण थालनी गरेको करिब ११ वर्षमा आयोजना सम्पन्न हुँदा अनुमानित लागत र पूर्वनिर्धारित समयमा आयोजना बन्न नसक्दा प्रत्यक्ष तथा परोक्ष रूपमा ठूलो नोक्सानी भएको चर्चा गर्नुहुँदै उहाँले यसलाई भविष्यका लागि पाठका रूपमा ग्रहण गर्न आग्रह गर्नुभयो ।
सुरुमा आयोजनाका लागि ३५ अर्ब रुपियाँ निर्माण खर्च र १२ अर्ब रुपियाँ निर्माण अवधिको ब्याज तागतसँगै छ वर्षमा आयोजना तयार हुने प्रक्षेपण थियो । तर, आयोजनाको सुरुङको डिजाइन परिवर्तन, २०७२ सालको भूकम्प, मधेस आन्दोलन, ठेकेदारको ढिलासुस्ती तथा अक्षमता र कोरोना महामारीका कारण आयोजना पछाडि धकेलिएको हो । यसले गर्दा आयोजनामा मात्रै ५२ अर्ब लगानी र ३२ अर्ब रुपियाँ निर्माण अवधिको ब्याज पुगी कुल लगानी ८४ अर्ब रुपियाँ नाघेको अनुमान छ ।
कार्यक्रममा उपप्रधानमन्त्री एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विष्णुप्रसाद पौडेलले माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको सफलताले विशिष्ट महìव राख्ने भन्दै ‘लोडसेडिङ’ अन्त्यको घोषणालाई दिगो रूपमा अन्त्य गरिदिएको बताउनुभयो । “सरकार जलविद्युत् क्षेत्रमा गुणात्मक फड्को मारेर समृद्ध नेपाल निर्माणलाई दिगो बनाउन चाहन्छ”, उहाँले भन्नुभयो । प्रक्षेपित लागत र समयमै यो आयोजना नबने पनि त्यसलाई भविष्यको पाठका रूपमा सरकार र सरोकारवालाले लिएर अघि बढ्ने उहाँको भनाइ छ ।
एक दशकअघि २०६८ जेठ ४ गते तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले शिलान्यास गर्नुभएको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट सोमबार पहिलो युनिट सञ्चालन गरेर ७६ मेगावाट विद्युत्लाई राष्ट्रिय प्रणालीमा आबद्ध गरिएको छ । अबको एक सातामा अर्को युनिट पनि सञ्चालन गर्ने तयारी माथिल्लो तामाकोसी जलविद्युत् कम्पनीको छ ।
भूमिगत विद्युत्गृह रहेको सो आयोजनाका ७६ मेगावाट क्षमताका छवटा टर्वाइन छन् । बाँकी टर्वाइन पनि क्रमिक रूपले सञ्चालन गर्ने कार्ययोजना छ । आयोजनाबाट उत्पादित बिजुली खिम्ती सबस्टेसनमार्पmत ढल्केबर सबस्टेसनमा पु¥याइएको छ ।
२०७८ साल वैशाख १६ गतेबाट मुख्य सुरुङमा पानी पठाई परीक्षण सुरु गरिएको यो आयोजनाको गत आइतबार मुख्य सुरुङको सफल परीक्षण भएको थियो । त्यसैगरी आयोजनाले सोमबार पहिलो युनिटको सोक टेस्ट सम्पन्न गरेको थियो । शनिबार ढल्केबरबाट खिम्तीसम्म २२० केभीको लाइन आएपछि रामेछापको फुलासीस्थित २२०/१३२ केभीको जीआईएस (गाँस इन्सुलेटेड सबस्टेसन) चार्ज गरिएको थियो ।
आइतबार बिहान ११ बजेर २० मिनेटमा खिम्तीदेखि गोङ्गरसम्मको ४७ किलोमिटर लामो प्रसारण लाइनमा विद्युत् चार्ज सम्पन्न भएसँगै तामाकोसी जलविद्युत् आयोजनाले पहिलो युनिटबाट उत्पादन सुरु गरेको आयोजनाका प्रवक्ता डाक्टर न्यौपानेले जानकारी दिनुभयो । उत्पादित विद्युत्लाई राष्ट्रिय प्रसारण लाइनमार्फत वितरण गर्न रामेछापको फुलासीस्थित २२०/१३२ केभीको सबस्टेसनमा जोड्ने र ढल्केबर हुँदै राष्ट्रिय प्रसारण लाइनमार्फत वितरण हुने बताइएको छ ।
यो आयोजनाको वार्षिक उत्पादन क्षमता दुई हजार २८१ गिगावाट आवर रहनेछ । २०७८ साल असार २१ बाट उत्पादन थालेको आयोजनाको पुसदेखि चैतसम्मको सुक्खायाममा २९२ गिगावाट आवर र बाँकी समय एक हजार ९८८ गिगावाट गरी दुई हजार २८१ गिगावाट आवर विद्युत् उत्पादन हुने भएको हो । यहाँ उत्पादित विद्युत्लाई प्राधिकरणले प्रतिकिलोवाट चार रुपियाँ छ पैसामा खरिद गर्ने गरी सम्झौता भएको छ । त्यसैले यसले उत्पादनको पहिलो वर्ष नौ अर्ब २६ करोड आठ लाख ६० हजार रुपियाँको विद्युत् उत्पादन गर्ने आयोजनाका प्रवक्ता डाक्टर न्यौपानेले जानकारी दिनुभयो । ८२२ मिटर हेड र दैनिक पिकिङ रन अफ दी रिभर प्रकृतिको यो आयोजना सबैभन्दा सुक्खा मौसममा समेत साढे चार घण्टासम्म पूर्ण क्षमतामा सञ्चालन गर्न सकिने उहाँले बताउनुभयो । १० वर्षमा १०६ अर्ब कमाउने लक्ष्य राखेको यो आयोजनाले नौ वर्षमा लागत उठाउने अनुमान गरिएको छ । यो समाचार आजको गोरखापत्रमा प्रकाशित छ ।

प्रकाशित मिति: २२ असार २०७८, मंगलवार ०९:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु