मस्र्याङदी आफ्नै धारमा बगेपछि मनाङमा जोखिम घट्यो

लमजुङ । मस्र्याङदी नदी आफ्नै धारमा बग्न थालेपछि हिमाली जिल्ला मनाङमा जोखिम घटेको छ । मस्र्याङदी नदी उर्लिएर वस्ती तथा विद्यालयलाई जोखिममा पारेको नदी आफ्नै धारमा फर्किएपछि जोखिम कम भएको स्थानीयले बताएका छन् । बाढीले दैनिक जसो वस्ती र विद्यालयमा क्षति पु¥याउँदै आएपछि स्थानीय त्रसित भएका थिए । निरन्तर पानी परिरहँदा नदीको बहाव बढ्ने भएकाले स्थानीयलाई रातभर सुत्न सकस हुन्थ्यो । अहिले मस्र्याङदी साविककै आफन्ै गतिमा बग्न थालेको चामे गाउँपालिका वडा नं. ५ का अध्यक्ष कैले गुरुङले बताउनुभयो । उहाँका अनुसार नदीमा आएको बाढीका कारण वडा नं. ४ मा रहेको विद्यालय र ५ का वस्ती जोखिममा परेको थियो ।
वस्ती डुवानमा परेको थियो । माथिल्लो मनाङ जाने बेलिब्रिजमा क्षति पुगेको थियो । माथिल्लो मनाङ र वडा नं. ५ जाने झोलुंगे पुल पनि बगाएपछि सम्पर्क टुटेको थियो । एक्साभेटरले ट्रयाक बनाउँदै चामे आएको र चामेको बेलिब्रिजमा थुप्रिएको काठ, ढुंगामाटो, रुखका हाँगाहरु हटाएको हो । अहिले बेलिब्रिजको बाटो जिप र मोटरसाइकललगायतको सवारी साधन आउजाउ हुन थालेको वडाध्यक्ष गुरुङले बताउनुभयो ।
उहाँले भन्नुभयो–‘मस्र्याङदीमा एक्कासी बाढी आयो । वस्ती, विद्यालय, पुलमा क्षति पुग्यो । माथिल्लो मनाङ र हाम्रो वडासँग सम्पर्क पनि टुट्यो । अहिले एक्साभेटर प्रयोग गरी प्रहरी, स्थानीयको पहलमा बाटो मर्मत भएको छ । बेलिब्रिजको मर्मत भएको छ । सवारी साधन पनि गुड्न थालेको छ । अब जोखिम कम होला ।’
अविरल वर्षाका कारण मस्र्याङदी नदीमा गत जेठ ३१ गते ठूलो बाढी आएको थियो । त्यसपछि पनि पटकपटक बाढी आएको थियो । मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले नदी आफ्नै गतिमा बग्न थालेपछि जोखिम कम भएको बताउनुभयो । धेरै समयको प्रयासपछि नदीलाई आफ्नै धारमा फर्काउन सफल भएको बताउनुभयो । उहाँका अनुसार बाढीले चामेस्थित लोकप्रिय माध्यमिक विद्यालयको भवन भत्काएको छ । सरकारी कार्यालय बगाएको छ । बजार क्षेत्र, सडक क्षतविक्षत बनाएको छ । माथिल्लो मनाङ पुग्ने एकमात्र बेलिब्रिज क्षति पुगेको थियो ।
माथिल्लो मनाङको भ्राताङबाट एग्रो मनाङको एक्साभेटर ल्याएर बेलिब्रिजमा रहेका काठ, हाँगा, ढुंगा निकालिएको हो । नेपाली सेना र प्रहरीले काठ निकालेर काटेका थिए । यस कार्यमा जनप्रतिनिधि, स्थानीय समेत खटिएका थिए । हाल बेलिब्रिजमुनिबाट पानी बग्न थालेको प्रजिअ लामिछानेले बताउनुभयो ।
उक्त बेलिब्रिजबाट सवारी साधन आवातजावत हुन थालेको छ । उहाँका अनुसार चामेदेखि तिमाङसम्म र चामेदेखि तलेखुसम्म बाटो खुलेको छ । माथिल्लो क्षेत्रका केही ठाउँमा काम गर्न असहज भएकाले केही समय लाग्ने बताउनुभयो । बाढीले सडकको माटो सबै बगाएको र चट्टान मात्र बाँकी रहेकाले यसलाई फुटाएर मात्र बाटो सञ्चालन सम्भव भएको बताउनुभयो । मस्र्याङदी नदीलाई आफ्नै गतिमा फर्काउन सफल भएपछि वरिपरिका वस्ती सुरक्षित हुने देखिएको छ । थप सुरक्षाका लागि नदीको छेउछाउमा ग्याबीन लगाउने योजना रहेको र ग्याबीन हेलिकप्टरमार्फत ल्याउने तयारी भएको प्रजिअ लामिछानेले बताउनुभएको छ ।
प्रकाशित मिति: १७ साउन २०७८, आइतवार १८:४२ बजे