बागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त ,अष्टलक्ष्मी शाक्य पहिलो महिला मुख्यमन्त्री

काठमाडौँ । बागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त भएकी छन् । डोरमणि पौडेलले बुधबार राजीनामा दिएपछि एमाले बागमती संसदीय दलको बैठकले शाक्यलाई दलको नेतामा चयन गरेको थियो ।
संसदीय दलको नेतामा सर्वसम्मत चयन भएकी शाक्यलाई बुधबार साँझ नै मुख्यमन्त्रीमा नियुक्त भएकी हुन् । नवनियुक्त मुख्यमन्त्री शाक्यलाई प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले पद तथा गोपनीयताको शपथ खुवाएका छन् । शाक्य मंगलबारसम्म एमालेको माधव नेपाल पक्षमा थिइन् । तर, नेपाल समूह एमालेबाट फुटेर नयाँ पार्टी दर्ता गरेसँगै उनी पार्टी विभाजनका विपक्षीमा उभिएकी थिइन् ।
पार्टी एकताका निम्ति नेपालको साथ छोडेकी शाक्यले अन्ततः मुख्यमन्त्रीको जिम्मेवारी पाइन् । शाक्य सात प्रदेशमध्ये पहिलो महिला मुख्यमन्त्री पनि बन्न सफल भइन् । यसअघि बागमतीको पहिलो मुख्यमन्त्री बन्ने दौडमा उनका लागि डोरमणि पौडेल नै बाधक बनेका थिए । सरकार गठनका क्रममा यसअघि संसदीय दलको चुनावमा पौडेलले शाक्यलाई १० मतले पराजित गरेका थिए ।
पौडेलले २४ माघ २०७४ मा देशकै पहिलो मुख्यमन्त्रीका रुपमा शपथ लिएका थिए । पार्टीभित्रको आन्तरिक विवादकै कारण धेरै विवादमा आएका पौडेलले ४२ महिनापछि सरकारबाट बिदा भएका छन् ।
बागमतीमा एक सय ९ प्रदेश सांसद छन् । जसमध्ये एमालेका ५५ सांसद छन् । सरकार बनाउन ५५ सांसद आवश्यक पर्छ । शाक्यलाई दलको नेता चुन्ने संसदीय दलको बैठकमा बुधवार ४९ जना मात्रै सांसद उपस्थिति भएको जनाइएको छ । यसअघि नेपाल पक्षमा २२ जना थिए ।
शाक्य र एमाले पोलिटब्युरो सदस्य अरुण नेपाल एमाले विभाजनको विपक्षमा उभिएपछि अन्य नेपालनिकट सांसदलाई रोक्न सकिने आकलन गरिएको छ ।
को हुन् अष्टलक्ष्मी शाक्य ?
नेपाली राजनीतिमा अष्टलक्ष्मीको नाम महिला नेतृको अग्रभागमा छ । २०३६ सालमा घर छोडेर भूमिगत राजनीतिमा होमिएकी शाक्य नयाँ नेतृहरूको प्रेरणाकी स्रोत पनि हुन् ।
Milestonencell
घरमा विवाहको कुरा चल्दा उनले भूमिगत राजनीति रोजेकी हुन् । २०१० सालमा महाअष्टमीका दिन शाक्यले जन्म लिएकी थिइन् । चित्रबहादुर र कुलमायाको कोखबाट उनको जन्म भएको हो । आर्थिक रुपमा सम्पन्न परिवारमा जन्मिएकी उनले सहजसँग शिक्षादिक्षा र विलासी जीवन बिताइन् । सुन व्यापार गर्दै आएको शाक्य परिवारले उनको हरेक इच्छामा साथ दिएको स्वयम् शाक्य बताउँछिन् ।
उनले २०२८ सालमा एसएलसी पास गरेकी थिइन् । किशोरी अवस्थामै आफूलाई राजनीतिक चेतना जागेको उनी बताउँछिन् । चिनियाँ भाषा सिक्ने अवसरले उनलाई राजनीतिमा जाने प्ररेणा मिलेको थियो । एसएलसी दिएपछि उनी चिनियाँ भाषा सिक्ने काममा लागेकी थिइन् ।
चिनियाँ भाषा सिकेपछि उनले चीनको राजनीतिक व्यवस्थालाई बुझेकाले कम्युनिष्ट राजनीतिमा लाग्न बल पुगेको सुनाइन् । ‘चिनियाँ नेताहरूको किताब पढेपछि मलाई नेपालमा पनि परिवर्तन गनुपर्छ भन्ने लागेपछि राजनीतिमा आएकी हुँ,’ उनले भनिन् ।
लुकिछिपी राजनीति गरिरहेकी शाक्यलाई घरमा कडाइ गर्न थालिएको थियो ।
घर बाहिरको हिँडडुलमा कडाइ गर्न थालेपछि अन्ततः शाक्य भूमिगत राजनीतिमा होमिएकी थिइन् । घरमा विवाहको कुरा चल्न थालेपछि उनले भूमिगत हुने निर्णय लिएको बताइन् । ६ पुस २०३६ सालमा उनले घर छोडेर हिँडेकी थिइन् । शाक्यले २०३६ देखि ०४६ सालसम्म सिन्धुपालचोकदेखि झापासम्मका गाउँमा राजनीतिक चेतनाको विकास गर्दै आएकी थिइन् । उनले तत्कालीन समयमा मेची अञ्चलको महिला संघको नेतृत्वसमेत गरिन् ।
शाक्यले जेल जीवन पनि बिताएकी छन् । महिला संघको कार्यक्रम गर्दा इलाममा जेल जीवन बिताएकी हुन् । २०४६ सालमा झापामा पार्टी कमिटीको बैठक भइरहेका बेला शाक्यसहित अन्य थुप्रै नेताहरू पक्राउ परेका थिए । उनले जेल जीवन बिताउँदा झापामा सिस्नुपानी लगाएको बताइन् । प्रहरीले दैनिक यातना दिँदा पनि हिम्मत नहारेकी शाक्य २०४६ सालमा देशमा बहुदल स्थापना भएपछि जेल मुक्त भएकी थिइन् ।
पार्टीको पाँचौ महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएकी शाक्य नवौँ अधिवेशनबाट एमालेको उपाध्यक्ष बनेकी थिइन् । उनी केन्द्रीय सरकारको दुई पटक मन्त्री भइसकेको छन् । भूमिगत राजनीतिकै क्रममा चिनजान भएका अमृत बोहरासँग शाक्यले विवाह गरेकी हुन् । शाक्यसहित बोहरा अहिले पनि राजनीतिमा सक्रिय छन् ।
प्रकाशित मिति: २ भदौ २०७८, बुधवार २१:५२ बजे