६ चैत २०८१, बुधवार

पतञ्जली कलेजले शुल्कको बहानामा पढाइ रोकिँदा बिचल्लीमा विद्यार्थी

पतञ्जली आयुर्वेद मेडिकल कलेज एवं रिसर्च सेन्टरमा गत साउन १ गते देखि पठनपाठन बन्द छ । विद्यार्थीले समयमा शुल्क नतिरेको भन्दै कलेजले पठनपाठन ठप्प पारेको हो । तर पढाइ रोकिनुको मुलकारण भने शुल्क मात्र नरहेको विद्यार्थी र कलेज संस्थापनको भनाई छ ।

अकस्मात पढाइ रोकिएको भन्दै विद्यार्थीहरु यतिबेला आन्दोलित बनेका छन् । उनीहरू भदौ १ गतेबाट औपचारिक रुपमै घोषणा गरेर क्याम्पस प्रशासन विरुद्ध आन्दोलित बनेका हुन् । पूर्वसूचना नदिइ हठात् कलेजले पठनपाठन बन्द गरेकाले आन्दोलनमा उत्रन बाध्य भएको विद्यार्थीहरू बताउँछन् ।

आफ्ना मागहरू पूरा गर्न कलेज प्रशासनले बेवास्ता गरेकाले विद्यार्थीहरु कलेजका सस्थापक शालीग्राम सिहंलाई नै भेट्न गए । तर, पतञ्जली योगपिठ नेपालको प्रमुख कार्यलय, मण्डीखाटार पुगेका विद्यार्थीसँग सिंहले छलफल नगरी प्रहरी बोलाएर धरपकड गरे । केही विद्यार्थी पक्राउ समेत परे ।

विद्यार्थी र कलेज प्रशासनबीच शुल्कका विषयमा विवाद थियो । यो विवाद समाधान गर्न भएको दुईपक्षीय सम्झौता अनुसार विद्यार्थीले पढाइ सकिँदासम्म कलेजलाई चार किस्तामा गरेर १५ लाख तिर्ने सहमति भएको थियो । सो बमोजिम भुक्तानी नगरेको भन्दै कलेजले पठनपाठन ठप्प पारेको हो । यस्तो निर्णयले अहिले कलेजमा अध्ययनरत सय जना भन्दा बढी विद्यार्थी मारमा परेका छन् ।
कलेज प्रशासनले भने आफूहरूले सूचना दिएरै पठनपाठन रोकेको दाबी गरेको छ । प्रशासनले पछिल्लो पटक कुनै सूचना नदिएपनि यसअघि नै विद्यार्थीसँग सम्झौतामै भुक्तानी नभए पढाइ रोकिने सर्त भएकाले त्यसलाई नै सूचना मान्‍नुपर्ने बताइरहेको छ । तर, कलेजले पठनपाठन बन्द गराउनु शुल्कको कारण मात्र नभएको विद्यार्थीको आरोप छ ।

करिब पाँच वर्ष देखि नेपाल संस्कृत विश्वविद्यालयको अनुमति पाएर संचालित सो क्याम्पससँग आफ्नै अस्पताल पनि छैन । आयुर्वेद चिकित्सा परिषद्‍बाट अनुमति लिएर आफ्नै अस्पताल नभई पनि आयुर्वेद विषय अध्याापन गराइरहेको छ ।

तर हालै आयुर्वेद कलेजलाई नियमन गर्ने जिम्मा पाएको चिकित्सा शिक्षा आयोगले यो विषय थाहा पाएसँगै त्यहाँ दिइँदै आएको कोटा बन्द गरेको छ । ‘हामी अनुगमनमा जाँदा सो कलेजको अस्पताल पनि थिएन । योग्यता नपुगेर पनि उक्त कलेजले पहुँचको आधारमा कोटा पाइरहेको रहेछ,’ आयोगका सदस्य सचिव डिल्ली लुइँटेलले भने, ‘अनि हामीले त्यहाँ कोटा बन्द गराइदियौं ।’
विद्यार्थी पनि प्रयोगात्मक कक्षा संचालनको लागि कलेजको आफ्नो अस्पताल नभएको बताउँछन् । यसबारे कलेजलाई बारम्बार भन्दा पनि ‘बन्दै छ’ भनेर आश्वासन बाहेक केही नपाएको उनीहरुको गुनासो छ ।

चिकित्सा शिक्षा आयोगमा कलेजले पठनपाठन ठप्प पारेको बारे विद्यार्थीले उजुरी गरिसकेको लुइँटेलले बताए । उनका अनुसार मंगलबार बस्ने आयोगको बैठकले यसबारेमा निर्णय गर्ने छ । हाल पढिरहेका विद्यार्थीको कोर्स सक्ने जिम्मा स्वयं कलेज र विश्वविद्यालयले लिनुपर्ने आयोगको अडान छ ।

उसो त पतञ्जली आयुर्वेद मेडिकल कलेजले हालसम्म कुनै विद्यार्थी बजारमा पठाउन भ्याएको छैन । कलेजको पछिल्लो व्यवहारले विद्यार्थीको भविष्यमाथि प्रश्न चिन्ह खडा भएको छ । ‘अब अरु विद्यार्थी नथपिए पनि हामी पढिरहेकाको कोर्स त सक्दिए हुन्थ्यो । एक महिनादेखि कलेजले भएको अनलाइन कक्षा पनि रोकिँदा हामी चिन्तित छौँ,’ विद्यार्थी रुपेश ठाकुरले भने ।

विद्यार्थीहरू भने चिकित्सा शिक्षा आयोग र कलेजको निर्णयको चेपुवामा आफूहरू परेको गुनासो गरिरहेका छन् । कलेजले शुल्कको बहाना पारेर चिकित्सा शिक्षा आयोगले कोटा दिन बन्द गरेको रिस विद्यार्थीमाथि पोखेको दाबी गर्छन्, ठाकुर ।

पढाइ पुन: सञ्चालन गर्नका लागि पटकपटक अनुरोध गर्दा पनि कलेज प्रशासन सम्पर्कमा नआएको विद्यार्थीको आरोप छ । ‘तोकिए बमोजिम शुल्क बुझाउनुपर्नेमा हामी सकारात्मक छौं । तर, पूर्वसुचना नै नदिइ कलेजले एकाएक पढाइ हुँदैन भन्न पाउँछ ? सूचना नै नपाई हामीले कसरी पैसा तिर्ने ?,’ विद्यार्थी ठाकुर प्रश्न गरे ।

कलेजका संस्थापक मण्डलका हरि भण्डारी पनि शुल्कको कारण भन्दा पनि चिकित्सा आयोगको निर्णयले पठनपाठन ठप्प गराउन बाध्य पारेको स्वीकार्छन् । चिकित्सा आयोगले हचुवाको भरमा आफ्नो कलेजको कोटा खारेज गराएपछि यस्तो स्थिति उत्पन्न भएको उनको भनाई छ ।

‘विद्यार्थीले शुल्क नतिर्नु पनि पठनपाठन ठप्प हुनुको एउटा कारण हो । मुख्य चाहिँ आयोगले हचुवाको भरमा कोटा खारेज गर्नु हो । आयुर्वेदिक शिक्षालाई पछि पार्नु नै आयोगको नियत भएर हामीलाई यस्तो गर्‍यो’, भण्डारीको आरोप छ ।

त्यसमाथि पतञ्जली आयुर्वेद मेडिकल कलेजको आफ्नै अस्पताल भएको दाबी उनले गरे तर हाल कलेजको आफ्नै अस्पताल नभएको विधार्थी र चिकित्सा शिक्षा आयोग बताउछ । चिकित्सा शिक्षा आयोग र विद्यार्थीले झुटो बोलेको रटान उनले लगाइरहे । तर, मौखिक रुपमा गरिएको उक्त दाबी पुष्टि गर्ने आधार भने भण्डारीले प्रस्तुत गर्न सकेनन्।शिलापत्रबाट

प्रकाशित मिति: ४ भदौ २०७८, शुक्रवार २३:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु