५ दिनमा करिब ६ लाखले काठमाडौं उपत्यका छाडे

काठमाडौँ — घटस्थापनादेखि आइतबारसम्म करिब ६ लाख ५ हजार ५ सय ८५ जना उपत्यकाबाट बाहिरिएका छन् । महानगरिय ट्राफिक प्रहरी महाशाखाका सूचना अधिकारी एसपी सञ्जीव शर्मा दासले पाँच दिनमा उक्त संख्यामा यात्रु बाहिरिएको जानकारी दिए ।
अग्रिम टिकट बुकिङ गरेकाहरु बिहीबार (घटस्थापना) देखि काठमाडौंबाट बाहिरिन्छन् । यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले असोज १ देखि २४ गतेसम्म ९ लाख यात्रु बाहिरिसकेको जानकारी दिए ।
‘टीकाको अघिल्लो दिनसम्म यात्रुहरु उपत्यकाबाट बाहिरिन्छन्,’ उनले भने, ‘सोमबार, मंगलबार र बुधबार दिनमा करिब ३/४ लाख यात्रु बाहिरिन्छन् ।’
कोभिड–१९ अघिको दसैंमा २४/२५ लाख यात्रु बाहिरिने गरेको उनले बताए । गएको वर्ष कोभिडका कारण दसैं र तिहारमा निषेधाज्ञ जारी गरिएको थियो । यसपाली भने आधा यात्रुले दसैंमा उपत्यका छाड्ने अनुमान गरिएको उनले सुनाए ।
श्रोत: इकान्तिपुर
प्रकाशित मिति: २५ असोज २०७८, सोमवार २१:५७ बजे