सहिदको सालिकमा माल्यार्पण गर्दै अनेरास्ववियु काभ्रेले मनायो सहिद दिवस

काभ्रे । अनेरास्ववियु काभ्रेले पनौती नगरपालिका वडा नं ८ लज्जावती पार्कमा रहेको सहिदहरुको सालिकमा माल्यार्पण गरेर सहिद दिवस मनाएको छ । शहिदहरु धर्मभक्त माथेमा, दशरथ चन्द, शुक्रराज शास्त्री, गंगालाल श्रेष्ठ र सगुन ताम्राकारको प्रतिमामा माल्यार्पण गरेर सहिद दिवस मनाइएको अनेरास्ववियु काभ्रेका उपाध्यक्ष हेमराज हुमागाँइले जानकारी दिए । पनौती नगरपालिका–७ निवासी ताम्राकारले २०६२÷६३ को जनआन्दोलनमा शहादत् प्राप्त गरेका थिए । लज्जावती पार्कको उद्घाटन तत्कालिन सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल बास्कोटाले गरेका थिए । सोहि पार्कमा प्रतिस्थापन गरिएको शहिदको प्रतिमामा माल्यार्पण गरेर अनेरास्ववियुले शहिद दिवस मनाएको हो ।
कार्यक्रममा बोल्दै पनौती नगरपालिकाका नगर प्रमुख भिम न्यौपानेले शहिदहरुले देखेको सपना पुरा गर्ने दायित्व आफुहरुको काधमा रहेका बताएका छन् । अहिले केन्द्रमा अंकगणितमा एमाले विभाजन भएको देखिएपनि स्थानीय तहमा भने इमान्दार कार्यकर्ता एकै ठाउँमा रहेको उहाँको दाबी छ । पुर्व प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अघि सारेको समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य साकार पार्न स्थानीय तहहरु लागि रहेको नगर प्रमुख न्यौपानेले बताए । यस्तै नेकपा एमाले पनौती नगर कमिटी अध्यक्ष सुरेश हुमागाँइले सामाजिक अधिकारको आन्दोलन स्थापित गर्नमा अनेरास्ववियु सफल हुने विश्वास व्यक्त गरेका छन । कार्यक्रममा बोल्दै अनेरास्ववियुका केन्द्रिय कोषाध्यक्ष जेनिस लामाले जोसुकै सत्तामा आउँदा पनि मुलुकको ढुकुटी किन कमजोर बन्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् । राजनीतिक परिवर्तनबाट प्राप्त सत्तामा मात्रै ध्यान जाँदा पुर्वजले गरेका गलत काम बाहिर नआएको उनको भनाई थियो । अहिले नेपालको अवस्था मर्नेहरु मरिसके, बाँच्नेहरु बोल्दैनन भनेजस्तै रहेको लामाले बताएका छन् । वर्तमान सरकारले देश र जनताका बारेमा नसोचेको समेत उनको आरोप छ ।
यस्तै अनेरास्ववियु का केन्द्रिय सदस्य एवं एमाले काभ्रे जिल्ला कमिटी सदस्य उपेन्द्र शर्माले नेपालमा राजनीतिक परिवर्तन र न्यायको आन्दोलनमा अनेरास्ववियु सफल भएको बताएका छन् । जसले इतिहासलाई बिर्सन्छ, उसले भविष्यलाई सुधार्न नसक्ने शर्माको भनाई थियो । उनले वर्तमान सरकार जनताको मताधिकार खोस्न लागिरहेको पनि बताएका छन । स्थानीय तहको चुनाव कुनै पनि बहानामा सार्न खोजे त्यो एमालेलाई स्विकार्य नहुने शर्माले चेतावनी दिएका छन् । अनेरास्ववियु काभ्रेका अध्यक्ष अशोक खनालले आफुहरु शहिदको सपनासँगै बोकेर हिँडेको बताएका छन् । उनले सपनालाई मुर्त रुप दिन अनेरास्ववियु लागिरहेको पनि बताए । कार्यक्रममा अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य एवं काभ्रे इन्चार्ज शालिकराम पराजुली, हरिश्चन्द्र घिमिरे नेकपा एमाले पनौती नगरकमिटी सचिव सन्तोष केसी, , अनेरास्ववियु केन्द्रिय सदस्य सुनिता थापा लगायतका विभिन्न नेता कार्यकर्ताको उपस्थिती रहेको थियो । कार्यक्रमको सन्चालन अनेरास्ववियु काभ्रेका सह–सचिव युवराज दाहालले गरेका थिए
प्रकाशित मिति: १६ माघ २०७८, आइतवार २३:४३ बजे