संविधान संशोधन विधेयक आज पारित हुने खुसियालीमा धुलिखेलमा युवाहरुले दीप प्रज्वलन गर्ने
काभ्रे । प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । उक्त बैठकबाट नक्सा सम्बन्धी नेपालको संविधान दोस्रो संशोधन विधेयक पारित गर्ने कार्यसूची तय भएको छ ।
उक्त कुराको खुशीयालीमा आज साँझ धुलिखेलमा युवाहरुले दीप प्रज्वलन गर्ने कार्यक्रम तय गरेका छन् ।
त्यस्तै बनेपा मा पनि काभ्रेका युवाहरुले दीप प्रज्वलन गर्ने कार्यक्रम तय गरेका छन् ।
आज संभावित कार्यसूची अनुसार प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङफेले नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ माथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् । छलफलपछि कानुनमन्त्री तुम्बाहाङफेले नै उक्त विधेयकलाई पारित गर्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् ।
लिम्पियाधुरा, कालापानी, लिपुलेक, कुटी, गुञ्जी, नावीसहितको भूभाग समेटेर सार्वजनिक गरेको नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सालाई संवैधानिक मान्यता दिने गरी सरकारले संविधान संशोधन विधेयक ल्याएको छ । विधेयकमा सबै राजनीतिक दलहरुले समर्थन जनाएका छन् ।
प्रकाशित मिति: ३१ जेठ २०७७, शनिवार १३:२६ बजे











