६९ औं मदन जयन्तीमा अनेरास्ववियू काभ्रे र राष्ट्रिय युवा संघ काभ्रेको वृक्षारोपण कार्यक्रम
धुलिखेल । ६९ औं मदन भण्डारी जयन्तीमा पुर्व सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल बास्कोटाको अतिथित्वमा अनेरास्ववियू काभ्रे र राष्ट्रिय युवा संघ काभ्रेले वृक्षारोपण कार्यक्रम गरेको छ।
उक्त कार्यक्रममा बोल्दै पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् नेकपाका केन्द्रीय सदस्य गोकुलप्रसाद बाँस्कोटाले स्वर्गीय जननायक मदनभण्डारीको विचारलाई जीवन पद्धति बनाउनुपर्नेमा जोड दिनुभएको छ । आइतबार धुलिखेल नगरपालिकाको काभ्रेभञ्ज्याङमा ६९ औँ मदन भण्डारी जयन्तीको अवसरमा अनेरास्ववियू काभ्रे र राष्ट्रिय युवा सङ्घ काभ्रेद्वारा आयोजित भण्डारीको शालिक माल्यार्पण तथा वृक्षारोपण कार्यक्रममा उक्त भनाइ राख्नुभएको हाे ।
उहाँले भण्डारीको विचारको जीवन्तता, निरन्तरता आउँदो पुस्ताले ग्रहण गर्नुपर्नेमा जोड दिनुहुँदै त्यसका लागि अध्ययनसँगै यसलाई जीवन पद्धति बनाउनुपर्ने बताउनुभयो । बाँस्कोटाले मदन भण्डारीको सिद्धान्त अविचलित सालिक भएको बताउनुभयो ।
उहाँले धुलिखेल नगरपालिका– ११, काभ्रेभञ्ज्याङमा रहेको स्वर्गीय मदन भण्डारीको पूर्णकदको सालिकमा माल्यार्पण गर्नुभएको थियो । पार्क र सालिक निर्माणमा बाग्मती प्रदेश सरकार र धुलिखेल नगरपालिकाले संयुक्त रूपमा खर्च गरेका थिए । भण्डारीको सालिकसहितको पार्क निर्माणमा नगरपालिकाले १० लाख रुपियाँ र बाग्मती प्रदेश सरकारबाट १० लाख रुपियाँ गरी २० लाख रुपियाँ खर्च भएको थियो ।
उक्त कार्यक्रममा विभिन्न प्रजातिका दुई सय बिरुवा रोपिएको थियो । धुपी, ओखर, काफललगायत विभिन्न फूलका बिरुवा रोपिएको अनेरास्ववियूका केन्द्रीय सदस्य शालिकराम पराजुलीले जानकारी दिनुभयो । कार्यक्रममा जिल्ला समवन्य समिति काभ्रेका प्रमुख उद्धव केसी, धुलिखेल नगरपालिकाका प्रमुख अशोककुमार ब्याञ्जू, नमोबुद्ध नगरपालिकाका प्रमुख टीपी शर्मा, नेकपाका नेता कञ्चन अधिकारी, युवा सङ्घ केन्द्रीय समितिका अमित लामा, अनेरास्ववियूका नेता समिककुमार वडाल, युवा संघ जिल्ला संयोजक विक्रम चौलागाईं, अनेरास्ववियू जिल्ला संयोजक उपेन्द्र शर्मालगायतको उपस्थिति थियो ।



प्रकाशित मिति: १४ असार २०७७, आइतवार १४:२० बजे










