२२ कात्तिक २०८१, बिहीवार

काभ्रे जिल्लामा शुरु भयो राष्ट्रिय परिचयपत्र बितरण

धुलिखेल । काभ्रेपलाञ्चोक जिल्लाका नागरिकहरुको नेपाली राष्ट्रिय परिचयपत्र बन्ने भएको छ । असार ३१ गतेबाट जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा नागरिकतासँगै राष्ट्रिय परिचयपत्रका लागि तस्विर खिचाउने, हस्ताक्षर गर्ने सहित पूर्ण विवरण भर्ने कार्य शुरु भएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाई खतिवडाले धुलिखेलमा जिल्लाका नागरिकहरुको राष्ट्रिय परिचयपत्र बनाउन प्रकृया शुरु गरेको जानकारी दिनु भयो । सिता भण्डारी र सुमन अधिकारीले ब्यक्तिको तस्विर लिदै, दश औंलाको औठा छाप, दुवै आँखाको रेटिना, डिजिटल दस्तखत र डिजिटल फाराम भर्ने कार्य गरिरहनु भएको छ । विवरण दर्ता अपरेटर सिता भण्डारीले नागरिकहरुको पूर्ण विवरण परिचयपत्रको डिजिटल फाराममा समेटिएको बताउनु भयो । राष्ट्रिय परिचयपत्रका लागि नागरिकले आवेदन फाराम भरे सँगै आवेदकको ब्यक्तिगत विवरण लिईन्छ । जसमा नाम, थर, जन्म मिति, नागरिकता प्रमाणपत्र नम्वर र जारी मिति, नागरिकताको किसिम, विदेशी नागरिकले नेपाली नागरिकता लिएको भए त्यसको पूर्ण विवरण फाराममा उल्लेख गर्नु पर्नेछ । त्यस्तै आवेदकको स्थायी र अस्थायी ठेगाना, सम्पर्क नम्वर, जात, शैक्षिक योग्यता, बैवाहिक स्थिति, पितृत्वको ठेगाना नभए संरक्षकको नाम र ठेगाना, बाबु आमा, हजुरबुबा÷हजुरआमाको पूर्ण विवरण, पति÷पत्निको विवरण समेत फाराममा उल्लेख गरिएको हुन्छ । राहदानी लिएको भए त्यसको विवरण, बसाई सराई गरेकाहरुको हकमा त्यसको प्रमाणपत्र र विवाहितको हकमा नागरिकतामा पति÷पत्नि उल्लेख नभएमा विवाह दर्ता प्रमाणपत्र भए उपलब्ध गराउनु पर्छ । सबै विवरण भरे सँगै परिचयत्र पत्र उपलब्ध गराउने बेला राष्ट्रिय परिचयपत्र नम्बर उपलब्ध गराउने छ । उक्त नम्वर ब्यक्तिको पूर्ण विवरणका रुपमा लिईनेछ ।

परिचायपत्र बनाउन इच्छुक नागरिकहरुका लागि धुलिखेलमा शुरु गरिएको छ भने पालिकास्तरमा पनि उक्त अभियान शुरु हुने सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाई खतिवडाले बताउनु भयो । यो समाचार चेष्टासाप्ताहिक पत्रिकामा प्रकाशित छ ।

प्रकाशित मिति: १७ साउन २०७७, शनिवार ०९:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु