२५ असोज २०८१, शुक्रवार

हिमपातले मनाङ सेताम्य

लमजुङ — हिमपात रोकिएको करिब डेढ महिनापछि हिमाली जिल्ला मनाङमा पुनः हिमपात भएको छ । शनिबार बिहान २ बजेदेखि परेको हिमपातले मनाङ सेताम्य बनेको छ । स्थानीयको जनजीवन प्रभावित भएको छ ।

हिमपातले चक्रीय अन्नपूर्ण पदमार्गको गन्तव्य थोराङला पास र तिलिचो ताल जाने बाटो अवरुद्ध भएको छ। हिमपात रोकिएपछि केही दिनयता पर्यटकीय चहलपहल भइरहेको मनाङमा पुनः हिमपातले उनीहरु गन्तव्यमा पुग्‍न सकेका छैनन्।

अन्‍नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङका पर्यटन सहायक ब्रिजबहादुर गुरुङका अनुसार शनिबार बिहानीपख २ बजेतिरबाट हिमपात भएको थियो। हिउँ डेढ फिटसम्म जमेको थियो। केही पर्यटक गन्तव्यमा गएपनि हिमपातका कारण रोकिएपछि फर्किएका छन्।

व्यवसायीका अनुसार मुस्ताङतर्फ जाने पर्यटक लेदर, याककर्ख, थोराङला बेसक्याप साथै तिलिचो जाने पर्यटक खाङसार, श्रीखर्क, तिलिचो बेसक्याम्प लगायतका ठाउँमा रोकिएका छन्। डेढ महिनापछि परेको हिमपातले साँझबिहान एक्कासी जाडो बढेको स्थानीयले बताएका छन्।

चक्रीय अन्‍नपूर्ण पदमार्गमा घुम्‍न आएका पर्यटक चामेदेखि माथि जान सकेका छैनन्। चामेदेखि माथिल्लो क्षेत्रको सडकमा हिउँ जमेपछि सवारी आवागमन बन्द भएको मनाङका प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले बताए।

हिमपात हुँदा किसान भने खुसी भएका छन्। खेतबारीमा खनजोत गरेर मल छर्दै पुनः खनजोत गरी आलु रोप्‍ने तयारीमा किसान लागेका छन्। माटोमा चिस्यान बढ्ने भएकाले यतिबेलाको हिमपातले किसान रमाएका छन्।

हिमपातले गहुँ, फापर, करुलाई पनि राम्रो सिँचाई मिल्ने मनाङ ङिस्याङ गाउँपालिका १, पिसाङका याङडुङ गुरुङले बताए। नार्पाभूमि गाउँपालिकाका कृषि शाखा प्रमुख महेश पाख्रिनका अनुसार हिमपातले माटोमा उर्वरता बढाउँछ। हिमपातले स्याउ साथै आलु, करु, गहुँ, फापर साथै तरकारी बालीलाई राम्रो चिस्यान पुग्‍ने उनले बताए।

प्रकाशित मिति: २४ फागुन २०७६, शनिवार २१:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु