धुलिखेल नगरपालिकामा बन्यो ५० शय्याको क्वारेन्टाइन

धुलिखेल । कोरोना भाइरस संक्रमितलाई राख्नका लागि धुलिखेल नगरपालिकाले ५० शय्याको क्वारेन्टाइन शुरु गरेको छ ।
धुलिखेल नगरपालिकाले सञ्जिवनी स्कुलमा ५० जना राख्न मिल्ने गरि क्वारेन्टाइन शुरु गरेको धुलिखेल नगरपालिकाका मेयर अशोक कुमार व्याञ्जु श्रेष्ठले जानकारी दिनु भयो । नेपाली सेनाको सहयोगमा क्वारेन्टाइन निर्माण गरिएको हो ।
‘कोरोना संक्रमितलाई राख्नका लागि ५० वेडको क्वारेन्टाइन सञ्जिवनी स्कुलमा तयारी गरिएको छ’ मेयर ब्याञ्जुले भने,‘हामीले कोरोना संक्रमणबारे सचेत हुन आग्रह गरेका छौं । अत्यावश्यक सेवा बाहेकका सेवा बन्द गर्न आह्वन गरेका छौं ।’
यसअघि आइतबार धुलिखेल नगरपालिकाको आकस्मिक बैठक बसेको थियो ।
उक्त बैठकले आजदेखि खाद्य सामग्री, ग्यास पसल, स्वास्थ्य संस्था बाहेक अन्य पसल बन्द गर्न अनुरोध गर्ने निर्णय गरेको थियो ।
‘बैठकले धुलिखेल नगरपालिकाभित्र रहेका होटल, विद्यालय भवन क्वारेन्टाइनका रुपमा प्रयोग गर्ने समेत निर्णय गरेको छ ।’ नगर प्रमुख व्याञ्जुले भने, ‘चोक–चोकमा मानिसहरुको भिडभाड हुन नदिन नेपाल प्रहरी, नगरप्रहरी, जनप्रतिनिधिलाई आग्रह गर्ने समेत निर्णय गरेको छ ।’
प्रकाशित मिति: १० चैत २०७६, सोमवार १३:१३ बजे