२९ माघ २०८१, मंगलवार

कोरोनाभाइरसः स्पेनमा एकै दिनमा मृत्यु हुनेको सङ्ख्या हालसम्मकै उच्च

काठमाडौं । स्पेनमा कोरोनाभाइरसका कारण एकै दिनमा मृत्यु हुनेको सङ्ख्या ८६४ पुगेर अहिलेसम्मकै सबैभन्दा धेरै सङ्ख्या भएको छ।

युरोपमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ३० हजार नाघिसकेको छ। स्पेनमा मात्रै अहिलेसम्म नौ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ जुन युरोपेली मुलुकमा इटलीपछि दोस्रो हो।

स्पेनमा एक लाखभन्दा बढी मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएको पुष्टि भएका बेला नयाँ सङ्क्रमितको सङख्या भने निरन्तर घट्दै गएको जनाइएको छ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरसले कोरोनाभाइरसको महामारी दोस्रो विश्वयुद्धपछिकै ठूलो चुनौती भएको बताएका छन्।

प्रतिबन्ध
स्पेनमा विगत दुई हप्तादेखि सर्वसाधारणलाई घरबाहिर निस्कन र आवतजावतमा प्रतिबन्ध लगाइएको छ।

दुई दिनअघि त्यसमा थप कडाइ गरिएको थियो। तर कोरोनाभाइरसका कारण सबैभन्दा बढी प्रभावित मड्रिड र क्याटलोनियासहितका क्षेत्रमा स्वास्थ्यकर्मीहरूले आवश्यक चिकित्सकीय सामग्रीको अभावको सामना गरिरहेका छन्।

हालसम्म इटली सबैभन्दा नराम्ररी प्रभावित मुलुकको रूपमा देखिएको छ जहाँ कुल सङ्क्रमितको सङ्ख्या १,०५,७९२ रहेको छ भने मङ्गलवार साँझसम्म १२,४२८ जनाको मृत्यु भइसकेको छ।

स्पेनमा १,०२,१३६ सङ्क्रमित छन् भने ९,०५३ जनाको ज्यान गएको छ। संयुक्त राज्य अमेरिकामा मृत्यु हुने मानिसहरूको सङ्ख्या ४,००० नाघेको छ भने इरानमा मृतकको सङ्ख्या ३,००० पुगेको छ।

प्रकाशित मिति: १९ चैत २०७६, बुधवार २१:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु