नेपालमा छैटौं ब्यक्ती कोरोनाका संक्रमित भएको पुष्टि

काठमाण्डौ । नेपालमा अर्का एक जनालाई पनि कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ ।
चैत ४ गते कतारको दोहा हुँदै काठमाण्डौ आएका एक युवामा कोरोनाको भाइरस पाइएको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज नियमित पत्रकार सम्मेलन गर्दै मन्त्रालयले यसबारे जानकारी गराएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ पुगेको छ ।
ती व्यक्ति कहाँका हुन् र कहाँ उपचाररत छन् भन्नेबारेमा भने मन्त्रालयले केही बताएको छैन ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका एक चिकित्सकले भने, ‘पछिल्लो संक्रमित पुष्टि भएको विरामी हाम्रोमा भर्ना भएको हो कि अन्तको हो थाहा छैन । हामी खोज्दैछौं ।’
पहिलो कोरोना संक्रमित व्यक्ति भने उपचारपछि निको भइसकेका छन् ।
दोस्रो संक्रमित व्यक्ति काठमाडौंकी १९ वर्षीया युवती हुन् । उनी फ्रान्सबाट दोहा हुँदै कतार एयरवेजको क्यू आर ६५२ जहाजबाट काठमाडौं आएकी थिइन् । उनमा चैत १० गते कोरोना संक्रमण पुष्टि भएपछि सरकारले देशभर लकडाउन घोषणा गरेको थियो ।
तेस्रो धादिङको, चौथो धनगढीको र पाँचौं बाग्लुङको व्यक्तिमा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।
अहिलेसम्म काठमाडौं र काठमाडौं बाहिर गरी १ हजार १ सय ८४ वटा नमूना परीक्षण गरिएको पनि डा. देवकोटाले जानकारी दिए । ४३ वटा काठमाडौंमा र १२ वटा धरानमा नमूना परीक्षणको क्रममा रहेको तथा सैनिक अस्पतालले १७ वटा स्वाब लिएको पनि उनले जानकारी दिए ।
डाक्टर देवकोटाका अनुसार १६ जना उपत्यकामा र ९९ बाहिर गरी मुलुकभर १ सय ५ जना आइसोलेसनमा छन् ।
प्रकाशित मिति: २० चैत २०७६, बिहीवार १७:१४ बजे