कोभिड–१९ संक्रमण रोकथाममा हुन पर्ने कामका सवालमा नगरपालिका संघ र प्रदेश संयोजकहरुबिच छलफल

काठमाडौं । नेपाल नगरपालिका संघका पदाधिकारी र सातवटै प्रदेश समिति संयोजकहरुबिच कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रणका सन्दर्भमा भिडियो कन्फ्रेन्स सम्पन्न भएको छ ।
बैठकमा संघका पदाधिकारी र संयोजकहरुविच सम्बन्धित प्रदेश र नगरपालिकाहरुले कोरोना भाईरस (कोभिड–१९ )को संक्रमणवाट बच्ने उपाय र गरेका प्रयत्न लगयातका विषयमा छलफल भएको थियो ।
बैठकले नगरपालिकाहरुलाई कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि आवश्यक मात्रामा पि.पि.ई. लगायतका स्वास्थ्य सामग्री र जनशक्ती उपलब्ध गराउन प्रदेश तथा संघ सरकारको ध्यानकर्षण गराएको संघका अध्यक्ष अशोक कुमार व्याञ्जुले जानकारी दिनुभयो ।
त्यसैगरी बैठकले नगरपालिकाहरुलाई असंगठित क्षेत्रमा कार्यरत श्रमिक तथा असहाय वर्गलाई उपलब्ध गराउने राहतसम्वन्धी नमूना मापदण्ड बमोजीम कार्यपालिका बैठकवाट निर्णय गरेर मात्र राहत वितरण गर्न भनेको छ । राहत वितरणमा तीनै तहका सरकारको सहकार्य र समन्वय हुनुपर्नेमा पनि संघले माग गरेको छ ।
नगरपालिकाहरुले जनताको स्वास्थ्यलाई ध्यानमा राखि राहत वितरण, क्वारेन्टाइन व्यवस्थापन, औषधी एवं समग्र स्वास्थ्य सेवा व्यवस्थापनमा विपद कोष खडा गरेर नेतृत्वदायी भूमिका खेलेपनि हालसम्म संघ सरकारबाट स्रोतको व्यवस्थाको सुनिश्चितता नभएको भन्दै संघले केन्द्रीय सरकारको ध्यानाकर्षण गराएको हो ।
स्थानीय तहलाई राजश्व बाडफाँड अन्तर्गत संघबाट प्राप्त हुने रकम हालसम्म पनि ७० प्रतिशत भन्दा बढी आउन बाकी रहेको भन्दै संघका पदाधिकारी र प्रदेश समिति संयोजकहरुको बैठकले जतीसक्दो चाडो पठाउन माग गरेको छ ।
साथै बैठकले कोरोना महामारीको प्रभाव नेपालमा परिसकेको सन्दर्भमा विपन्न, अपाङ्गता, शारीरिक रुपले अशक्त र महिला तथा बालबालिकाहरुको खाद्य सुरक्षा, स्वास्थ्य जस्ता आधारभूत आवश्यक्ताका लागि नेपालमा क्रियाशिल विकास साझेदार र अन्तर्राष्ट्रिय संस्थाहरुलाई स्थानीय सरकासँग सहकार्य गर्न ध्यानकर्षण गराएको छ।
प्रकाशित मिति: २७ चैत २०७६, बिहीवार १८:१० बजे