डोटीमा ३ सय ३० जनाको स्वाब परीक्षण : सबैको रिपोर्ट नेगेटिभ
डोटी । जिल्लाका नौ वटा पालिकाका १२ वटा क्वरेण्टीनमा बसेका ३ सय ३० जनाको कोरोना भाइरस (कोभिड–१९) परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।
गएको चैत्र २६ गते सरकारले जिल्लाका ६ स्थानबाट क्वरेण्टीनमा बसेका ३०५ र अन्य २५ गरी जम्मा ३३० जनाको स्वाब सङ्कलन गरेर लगेकामध्ये सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका कोभिड–१९ सम्पर्क व्यक्ति सुर्यबहादुर विष्टले बताउनुभयो ।
उहाँका अनुसार दिपायल सिलगढी नगरपालिका वडा नं ४ राजपुरबाट ५० जना, शिखर नगरपालिका बन्लेकबाट २४ जना, धुर्कोटबाट ५० जना, बडीकेदार गाउँपालिका वडा नं विपीनगरबाट ४५ जना, आदर्श गाउँपालिका मौवानगरदहबाट ७५ जना र बोगटान फुड्सिल गाउँपालिका चवाराचौताराबाट ७६ जनाको स्वाव संङ्कलन गरेर परिक्षणका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु,काठमाण्डौ पठाइएको थियो ।
स्वाब परीक्षण गर्दा सबैको नतिजा नेगेटिभ आएपछि सबै ३३० जनालाई आजै घर पठाइएको डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताउनुभयो ।
प्रकाशित मिति: १ वैशाख २०७७, सोमवार २०:४८ बजे