वैशाख ५ मा दिल्लीबाट आएका थिए रुपन्देहीका कोरोना संक्रमित
बुटवल । शुक्रबार संक्रमण पुष्टि भएकामध्ये रुपन्देहीको कोटहीमाई गाउंपालिका १ का २५ बर्षीय युवा बैशाख ५ गते भारतको दिल्लीबाट आएका थिए । अहिले उनी बुटवलस्थित कोरोना बिशेष अस्थायी अस्पतालमा उपचाररत छन् ।
अहिलेसम्म कोरोनाको संक्रमण नदेखिएको प्रदेश नम्बर ५ मा एकै दिन दुई जनामा संक्रमण पुष्टि भएपछि थप उच्च सतर्कता अपनाउन थालिएको छ । यो प्रदेशमा पहिलो पटक शुक्रबार रुपन्देहीका एक र बाँकेका एक गरी दुई जनामा कोरोना पुष्टि भएको थियो ।
अस्पतालका मेसु डा.राजेन्द्र खनालले युवाको स्वास्थ्य अवस्था जानकारी लिने काम भैरहेको बताउनु भयो । भैरहवास्थित प्रादेशिक प्रयोगशालाबाट ती युवामा संक्रमण पुष्टि भएको थियो ।
प्रदेश ५ सामाजिक विकास मन्त्रालयको स्वास्थ्य शाखा प्रमुख उमाशंकर चौधरीका अनुसार भारतको दिल्लीमा मजदुरी गर्ने ती युवालाई स्वदेश फर्केलगत्तै मझगावामा रहेको जनता माविको क्वारेन्टाइनमा राखिएको थियो । क्वारेन्टाइनमै बसेका बेला पिसीआर जाच गरिएको थियो ।
उनको शुक्रबार नै भैरहवा स्थीत प्रादेशिक प्रयोगसालमा गरिएको पिसिआर परिक्षणमा कोरोना पुष्टि भएको हो । उनको घरमा ८ जनाको परिवार छ । यद्यपि उनले परिवारलाई नभेटेको दाबी गरिएको छ । उनी कति जनाको समूहमा आएका थिए त्यसबारे भने खोजवीन भैरहेको स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोलर केदार शाहले बताउनु भयो ।
प्रदेश ५ मा तीन वटा प्रयोगशालाहरु छन् । यहांका बिभिन्न क्यारेन्टाईनहरुमा १२ हजारभन्दा धेरै जना बसेका छन् ।
प्रकाशित मिति: १९ वैशाख २०७७, शुक्रवार १८:२५ बजे