१२ माघ २०८१, शनिवार

एक जिल्लाबाट अर्को जिल्ला जान नपाइने, सबै पास रद्द

काठमाडौँ । गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी यसअघि जारी भएका सबै अस्थायी सवारी पास खारेज गरेको छ । विभिन्न जिल्लामा कोरोना संक्रमितको संख्या बढेसँगै आवश्यक सावधानी अपनाउन यस्तो निर्णय गरिएको गृहमन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले बताए ।

उपत्यकाका ३ जिल्लाका लागि भने यो नियम लागू हुने छैन । उपत्यकाभित्र आवागमन गर्न जारी गरिएका पासले उपत्यका बाहिर जान भने पाइने छैन । गृहको यो निर्णय कडाइका साथ पालना गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालय, सातवटै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालय, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई निर्देशन समेत दिइएको छ ।
चैत ११ गतेबाट लकडाउन थालिएपछि देशभर एक जिल्लाबाट अर्को जिल्लाका लागि सबारी चलाउन सयौं पास जारी भएका छन् । जिल्लाभित्र आवागमन गर्न भने प्रमुख जिल्ला अधिकारीले आवश्यकता अनुसार निर्णय लिनसक्ने सहप्रवक्ता अधिकारीले बताए ।

सञ्चारकर्मीका हकमा भने सूचना विभागबाट जारी गरिएकाे पासका आधारमा आवतजावत गर्न पाउने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।
यस्तै सरकारी कर्मचारीको हकमा सम्बन्धित मन्त्रालयका सचिव र बैंक/वित्तीय संस्थालगायत क्षेत्रका कर्मचारीलाई नियामक निकायबाट जारी गरिएका छुट्टै पास लिएर मात्रै हिँडडुल गर्न दिन प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिइएको सहप्रवक्ता अधिकारीले बताए ।

प्रकाशित मिति: ३० वैशाख २०७७, मंगलवार २०:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु