काठमाडौं, धादिङ र धनुषामा थप ३ जनामा कोरोना संक्रमण ,संक्रमितको संख्या २४९ पुग्यो
काठमाडौं । नेपालमा थप ३ जना कोरोना संक्रमित भेटिएका छन् । काठमाडौं, धादिङ र धनुषाका थप ३ जनामा कोरोना संक्रमण देखिएको हो । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो कुराको जानकारी दिएको हो । योसहित संक्रमितको संख्या २ सय ४९ पुगेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले काठमाडौँ दहचोक निवासी ७ वर्षीय बालक, धनुषाको जनकपुरधामका १७ वर्षीया महिला र धादिङ निबासी ३० वर्षीया महिला रहेको जानकारी दिनुभएको छ । तीनैजनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा परीक्षणमा कोभिड–१९ को सङ्क्रमणको पुष्टि भएको हो । तीनैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले उल्लेख गरेको छ ।
तीनजना नयाँ सङ्क्रमित थपिएसँगै कोभिड–१९ का बिरामीको सङ्ख्या २४९ पुगेको छ ।
प्रकाशित मिति: १ जेठ २०७७, बिहीवार २१:०८ बजे