२३ मंसिर २०८१, आइतवार

मृतक सङ्क्रमित महिलाका गाउँका ५४ र टाेखाका २४ काे पीसीआर रिपोर्ट नेगेटिभ

सिन्धुपाल्चोक । नेपालमा पहिलो पटक कोरोनाभाइरस सङ्क्रमणका कारण धुलिखेल अस्पतालमा मृत्यु भएकी २९ वर्षीया सुत्केरी महिलाको सम्पर्कमा आएका ५४ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।
आइतबार र सोमबार गरी १९७ जनाको पीसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरिएको थियो । उक्त सङ्ख्यामध्ये ५४ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको जनस्वास्थ कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाइँले जानकारी दिनुभयो । बाँकीको एकदुई दिनमा नै रिपोर्ट आउने उहाँले बताउनुभयो । कोरोना सङ्क्रमित मृतक महिलाको शिशु, श्रीमान, माइतीघरको आमा र बहिनीको पीसीआर रिपोर्ट पनि हिजो नै नेगेटिभ आएको चापागाइँले जानकारी दिनुभएको हाे ।
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ९ राम्चे गाउँको चालिसेटोल, रातामाटा, ठोटनेरी, कालापानीगाउँ, टारबिसौनाका साथै मृतक महिलाको माइती गाउँलगायतमा स्वास्थ्य टोली पुगेर स्वाब सङ्कलन गरेको थियो । स्वाब काठमाडौँस्थित राष्ट्रिय जनस्वास्थ प्रयोगशालामा परीक्षणको लागि पठाइएको थियो । नेगेटिभ रिपोर्ट आएपछि स्थानीयहरूमा त्रास कम हुँदै गएको गाउँका शिक्षक बलराम तिमल्सिनाले बताउनुभयाे ।
स्वास्थ्य निर्देशनालय, प्रादेशिक जनस्वास्थ प्रयोगशाला, बाग्मती प्रदेशको सामाजिक विकास महाशाखा, स्वास्थ्य सेवा विभाग, जिल्ला जनस्वास्थ्य कार्यालय र स्थानीय स्वास्थ्यकर्मीको टोलीले गाउँलेको स्वाब सङ्कलन गरेको थियो । नेपालमै पहिलोपटक राम्चेमा कोरोना भाइरसका कारण मृत्यु भएपछि जिल्ला सुरक्षा समितिले बाह्रबिसे नगरपालिका ९ र बलेफी गाउँपालिका वडा नम्बर ७ र ८ लाई सिल लगाएर स्वाब सङ्कलन गरेको थियो ।

टोखाका २४ व्यक्तिको स्वाब परीक्षणको नतिजा नेगेटिभ
राससका अनुसार टोखा नगरपालिकामा बस्ने सिन्धुपाल्चोककी एक सुत्केरीको धुलिखेल अस्पतालमा मृत्यु भएपछि टोखामा गरिएका २४ व्यक्तिको स्वाब परीक्षणमा काेराेनाभाइरस नेगेटिभ देखिएको छ । सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–९ घर भई काठमाडौँको गोँगबुस्थित बुद्धमार्गमा बस्दै आएकी महिलाकाे शनिबार सिन्धुपाल्चोकबाट उपचारका लागि धुलिखेल अस्पताल लैजाने क्रममा मृत्यु भएपछि टोखामा गरिएको २४ जनाको स्वाब परीक्षणको नतिजा नेगेटिभ देखिएको हो ।
टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखा नगरपालिका–९ बुद्धमार्गमा गरिएको २४ जनाको स्वाब परीक्षणको नतिजा नेगेटिभ देखिएको जानकारी दिनुभयो । “स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज पीसीआर विधिबाट गरिएको परीक्षणको नतिजा नेगेटिभ देखिएको छ”, उहाँले भन्नुभयो । टोखा नगरपालिका–९ बुद्धमार्गका २४ जनाको स्वाब सङ्कलनको नतिजा नेगेटिभ देखिएसँगै शनिबार रातिदेखि सिल गरिएको गोँगबु क्षेत्रमा बन्दाबन्दी खुकुलो बनाइएको छ । टोखाले स्वाब परीक्षणको नतिजा नेगेटिभ देखिएकाले नडराइकन संयमता अपनाई लकडाउनको पूर्ण पालना गर्न नगरबासीलाई आग्रहसमेत गरेको छ ।

प्रकाशित मिति: ६ जेठ २०७७, मंगलवार २२:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु